जनकपुरधाम, ११ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी युवा संघले पानी र राहतको माग गर्दै आज जनकपुरधाममा प्रदर्शन गरिएको छ।
धनुषा जिल्ला कमिटीको नेतृत्वमा जनकचौकबाट सुरु भएको र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छ्न्।
प्रदर्शनमा गाग्रो बोकेका युवाहरू अनिकालको प्रतिकात्मक प्रदर्शन गर्दै मधेशमा चर्किँदो सुख्खा संकट समाधानका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेका छन्। सुख्खा क्षेत्र घोषणा गरेर समस्या समाधान नहुने भन्दै युवा संघले सरकारसँग तत्काल र दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउन माग गरेको छ।
ज्ञापनपत्रमा प्रभावकारी राहत प्याकेज घोषणा, चुरे दोहन रोक्ने, कृषि संरक्षण र प्रवर्द्धनका लागि नयाँ सिँचाइ योजना निर्माण गरी छिटो कार्यान्वयन गर्ने, किसानलाई समयमै मलखाद उपलब्ध गराउने र भारतबाट ल्याइने मलखादमा प्रहरीले गरिरहेको अवरोध हटाउनेजस्ता मागहरू समावेश छन्।साथै, चालु आर्थिक वर्षको बजेट निर्माणमा भएको अनियमितता सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्नुपर्ने समेत उनीहरूले माग गरेका छ्न् ।
