‘पञ्चकन्या’ले गरे ‘शल्यक्रिया’ को लोकार्पण

लक्ष्मी रिजाल
सिरहा, १२ साउन । कथा अब सुनिने मात्र होइन, अनुभूत गरिने भयो । शब्द अब कल्पना होइन, चिरफारको चक्कु भयो । आज सिरहाको गोलबजार–४ स्थित श्री बुढानिलकण्ठ आवासीय माध्यमिक विद्यालयको आँगनमा कथा साहित्यको शल्यक्रिया गरियो- किताबी होइन, संवेदनाको । लेखक नन्दलाल आचार्यको कथासङ्ग्रह ‘शल्यक्रिया’ भव्य समारोहबीच विमोचित भयो ।

विमोचन साधारण थिएन । कवच खोलेर कथा निकालिएको थिएन- भावना र चेतनाको स्पन्दनमार्फत कथा बोलेको थियो । सामाजिक समावेशीताको साँगुरो खोर तोड्दै, पाँच जातीय-सांस्कृतिक पहिचान बोकेका किशोरीहरू- पासाङमाया तामाङ, लक्ष्मी यादव, रानी महतो, रोशनी ठाकुर र पुनिता साहले विमोचन गरे कृति । उनीहरूलाई ‘पञ्चकन्या’ को रुपमा प्रस्तुत गर्नु केवल सांस्कृतिक सङ्केत थिएन, नयाँ युगको उद्घोष थियो । कुन्ती, तारा, अहल्या, मन्दोदरी र द्रौपदीको धार्मिक मिथकबाट आजका किशोरीको चेतनासम्मको यात्रा यो विमोचनको आत्मा बन्यो ।

कार्यक्रमको सभापति तथा विद्यालयका प्रधानाध्यापक रामवरण यादवले भने, “पाठशालाले अब पाठ्यपुस्तक मात्र पढाउँदैन, सामाजिक यथार्थ पनि पढ्न सिकाउँछ ।” उनको स्वरमा साहित्यप्रतिको श्रद्धा थियो । ‘शल्यक्रिया’ प्रति गहिरो आत्मीयता थियो । कथासङ्ग्रह २२३ पृष्ठ लामो छ । कुल २० लामा कथाहरू छन् । प्रकाशक शब्दाङ्कुर मासिक, काठमाडौं हो । मूल्य ३५० रुपैयाँ राखिएको छ ।

कथाहरू तराई–मधेसको दुःख–साहस–सङ्घर्षको संवेदनशील चित्र हुन् । वर्गीय विभेद, मौनता, संरचनात्मक हिंसा र विद्रोहको गन्ध उनीहरूका संरचना हुन् । खेमराज पोखरेल, पुण्य कार्की, जयराम अधिकारी र धीरकुमार श्रेष्ठका भूमिका लेखहरूले कृतिको चिन्तन-गहिराइ थपेका छन् । रितिका साहको लयात्मक उद्घोषणले कार्यक्रमको आत्मा झल्कायो ।

कक्षा ८, ९ र १० का झन्डै ९० विद्यार्थीहरूको उपस्थिति केवल सङ्ख्या थिएन, त्यो चेतनाको उत्सव थियो । उनीहरूले किताबलाई पढेनन्, भोगे । उनीहरूको टिप्पणी र विमर्शले प्रष्ट गर्‍यो- कथा अब पाठशालाको कोठामा होइन, किशोरीहरूको हृदयमा पढिन्छ । वक्ताहरूले जति बोले, त्यति नै गहिरिए कथाहरूको अर्थ बुझे । “यी कथा घटनाका विवरण होइनन् ।” उनीहरूले भने, “यी पीडाको प्रतिरोध हुन्, परिवर्तनको स्वर हुन् ।” साहित्य अब विद्यालयको भित्तामा टाँसिने पोस्टर होइन । यो पाठशालाको मूल मञ्चमा चढेको आवाज हो ।

सहभागी किशोरी अञ्जली यादव भन्छिन्, “हामीले आज किताबसँग हात मिलायौँ, त्यो हाम्रो आवाजमा बाँच्न थाल्यो ।” ‘शल्यक्रिया’ को विमोचनले देखायो- कथा केवल किताबमा बन्द हुँदैन, त्यो उद्घोषमा खुल्छ, जीवनमा घुल्छ, अनुभूतिमा बग्छ । आजको दिनले पाठशालामा साहित्य गुञ्जिन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्‍यो । जहाँ शिक्षकले लेखेको किताब विद्यार्थीले विमोचित गरे । र, त्यो प्रक्रिया पाठ्य र पाठक बीचको संवाद बनेर उभियो । अब पाठशालाले समाज पढ्छ । अब किशोरीहरूले कथा बोल्छन् । अब पुस्तकहरू केवल पढिँदैनन्, बाँचिन्छन् । शल्यक्रिया केवल विमोचित भएन । त्यो विमोचनसँगै एउटा चेतना पनि उघ्रियो । ०००

Author:



क्याटोगरी छान्‍नुहोस