जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता, संयोजन समिति गठन हुने (हेर्नुहोस् सम्झौता)

काठमाडौं, २९ साउन, । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ। दुवै दलले यसलाई ‘एकता उन्मुख कार्यगत एकता’को रूपमा व्याख्या गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले संयुक्त रूपमा एकता घोषणा गर्दै घोषणापत्रमा हस्ताक्षर गरे। राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका हुन् भने महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका थिए।

घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य, प्रतिबद्धता र आचारसंहिता उल्लेख छ। केन्द्रीय तहमा संयोजन समिति रहनेछ, जसमा दुवै दलबाट अध्यक्षसहित ७/७ जना सदस्य रहने र कम्तिमा २ जना महिला अनिवार्य हुने प्रावधान छ।

त्यस्तै, प्रादेशिक तहमा ५/५ सदस्यीय र स्थानीय तहमा ३/३ सदस्यीय संयोजन समिति बन्नेछ। बैठकको अध्यक्षता पालैपालो हुने व्यवस्था गरिएको छ।

यस कार्यगत एकतासँगै दुवै दलले राजनीतिक गतिविधि, संगठन विस्तार र नीति निर्माणमा सहकार्य गर्दै निकट भविष्यमा पूर्ण एकताको सम्भावना पनि खुला राखेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस