प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मंसिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।

आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उल्लेख छ। त्यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरिएको छ भने त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

निर्वाचन दिवसका रूपमा तोकिएको फागुन २१ गते बिहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म मतदान हुने छ। दुई निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक) अन्तर्गत मतपेटिका सङ्कलन सकिएपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।

समानुपातिक प्रणालीका लागि अगहन १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आयोगले निर्वाचनमा सरोकारवालासँग सहकार्य र समन्वयका लागि स्वीकृत कार्यतालिकाअनुसार आवश्यक परामर्श र छलफल गरिने पनि जनाएको छ।

त्यस्तै, आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था रहेको र कातिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने आयोगले स्पष्ट पारेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस