जनकपुरधाम । पछिल्लो समय विवादित बनेका मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल अन्ततः पदमुक्त भएका छन् ।
पदीय आचरणविपरीत काम गरेको आरोपमा उनी विरुद्ध दर्ता गरिएको पदमुक्त सम्बन्धी प्रस्ताव बुधबार प्रदेश सभाको दुई–तिहाइ बहुमतले पारित भएको हो । बैठकमा उपस्थित ७८ मध्ये ७६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै पनि मत परेन ।
कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पेश गरेको प्रस्तावलाई संविधानअनुसार आवश्यक बहुमत पुगेको भनी उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन् । प्रस्ताव पारित भएसँगै मण्डल सभामुख पदबाट तत्क्षणै स्वतः मुक्त भएको उनले जानकारी गराइन् ।
सभामुख मण्डलले पदअनुकूल आचरण नगरेको भन्दै कात्तिक २७ गते प्रस्ताव दर्ता गरिएको थियो ।