प्रदेश संयोजक भन्छन् ‘एमालेले जेनजीमाथि कुटपिट गरेको हो’

राजविराज । बाराको सिमरा चोकमा बुधबार भएको घटनाबारे जेनजी मधेश प्रदेश संयोजक शिव यादवले नेकपा एमाले निकट समूहद्वारा जेनजी कार्यकर्तामाथि गरिएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

सामाजिक सञ्जालमा घटनाबारे प्रतिक्रिया जनाउँदै उनले सिमरा चोकमै जेनजीको पूर्वनियोजित कार्यक्रम चलिरहेको बेला एमालेद्वारा परिचालित समूह पसेर बारा संयोजक सम्राट उपाध्यायसहितका कार्यकर्तामाथि कुटपिट, दुव्र्यवहार र अपमानजनक व्यवहार गरेको उल्लेख गरेका छन् । जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको जनाउँदै एमालेको आधिकारिक कार्यक्रम परवानीपुरमा रहेको प्रष्ट पारेका छन् ।

घटनापछि केही तत्वहरूले उल्टै जेनजीलाई दोषी ठह¥याउने भ्रामक र पूर्वाग्रही सूचना प्रवाह गर्न खोजेको उल्लेख गर्दै यादवले यस्ता गतिविधिलाई आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयासका रूपमा टिप्पणी गरेका छन् । उनले मिडियाकर्मी र सम्बद्ध पक्षसँग यस्ता गलत जानकारीहरू नफैलाउन आग्रह गरेका छन् ।

संयोजक यादवले आक्रमणमा संलग्न सबै व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै आजको घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका महेश बस्नेतलाई मधेश प्रवेश निषेधको व्यवस्था मिलाउन समेत सरकारसँग अपिल गरेका छन् । एमालेले पछिल्ला दिनमा मधेशमा लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गरिरहेको चर्चा गर्दै जसले मधेशको शान्ति–सुरक्षामा गम्भीर असर पारेको जनाएका छन् । जेनजी मधेश प्रदेश संयोजक यादवले राज्य र सुरक्षा संयन्त्रलाई उच्च संवेदनशीलता अपनाई कठोर कदम चाल्न आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस