जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका छन्।
उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। तत्कालीन माओवादी जनसरकारका प्रमुखसमेत रहेका यादव पूर्वलडाकु हुन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले सप्तरी क्षेत्र नम्बर–३ बाट विजय हासिल गर्दै प्रचण्ड नेतृत्वको सरकारमा सिँचाइमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
२०७४ सालको निर्वाचनमा उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धामा उत्रिएका थिए। तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उमेशले ११ हजार ५७९ मत ल्याउँदा उपेन्द्र यादवले २१ हजार ६२० मतसहित विजय हासिल गरेका थिए।
यादव दुई साताअघि नेकपा परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका हुन्।

