राजविराज । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
नेता तथा कार्यकर्ताको जुलुससहित राजविराज–७ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा सिंहका समर्थकहरूले पार्टीको झण्डा, नाराबाजी सहित शक्ति प्रदर्शन समेत गरेका छन् ।
केही दिनअघि प्रदेशसभा सदस्य पदबाट तथा जनमत पार्टीको साधारण सदस्यताबाट राजीनामा दिएका सिंह यसपटक आफ्नै भाइ सत्यवान सिंह अध्यक्ष रहेको स्वाभिमान पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीमा प्रस्तावक रामकुमार राय र समर्थक रविनकुमार सिंह भएका छन् ।
२०७९ सालको निर्वाचनमा जनमत पार्टीको तर्फबाट सप्तरी क्षेत्र नम्बर–२ प्रदेशसभा (क) बाट १६ हजार ४३४ मत ल्याएर निर्वाचित भएका थिए । तत्पश्चात उनी मधेश प्रदेश सरकारको मुख्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । मनोनयन दर्ताको पूर्वसन्ध्यामा उनी जनमत पार्टी तथा मधेश प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए ।
मधेश आन्दोलनदेखि नै सक्रिय राजनीतिमा रहेका उनले संगठन निर्माण, प्रशासनिक सुधार र मधेशी जनताको हकअधिकारका मुद्दामा विगतमा भूमिका देखाएका छन् ।