राजविराज । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्ड समारोहमा प्रदान गरिने ‘बेस्ट मेयर अवार्ड’ का लागि छिन्नमस्ता गाउँपालिकाका मेयर विद्यानन्द चौधरी चयन भएका छन् ।
स्थानीय तहमा सुशासन प्रवर्द्धन, दिगो विकास, सामाजिक समावेशिता तथा जनउत्तरदायी नेतृत्वमा पुर्याउनुभएको उल्लेखनीय योगदानको मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मानका लागि छनोट गरिएको आयोजक संस्थाले जनाएको छ ।
मेयर चौधरीको नेतृत्वमा छिन्नमस्ता गाउँपालिकाले पछिल्ला वर्षहरूमा विकास र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको स्थानीयवासीहरूको भनाइ छ । सडक, पुल, खानेपानी, विद्युत् जस्ता आधारभूत पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालय सुधार, स्वास्थ्य चौकी सुदृढीकरण, निःशुल्क स्वास्थ्य शिविर, सरसफाइ अभियान तथा डिजिटल सेवा प्रणाली लागू गरेर सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाइएको छ ।
त्यसैगरी महिला, दलित, आदिवासी तथा पछाडि परेका समुदायको सहभागिता र पहुँच बढाउन विशेष कार्यक्रमहरू सञ्चालन गरिएको छ । युवालाई सीपमूलक तालिम, स्थानीय रोजगारी सिर्जना, कृषकलाई आधुनिक प्रविधि र अनुदानमार्फत सहयोग, तथा पारदर्शी प्रशासन प्रणालीमार्फत गाउँपालिकालाई जनमैत्री बनाउने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरबाट समेत प्रशंसा गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको यस अवार्डका लागि मेयर चौधरीको छनोट हुनु छिन्नमस्ता गाउँपालिका मात्र नभई सम्पूर्ण सप्तरी जिल्ला र देशकै लागि गौरवको विषय भएको स्थानीयवासीले बताएका छन् । मेयर चौधरीले यो सम्मान सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकावासीको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र जनउत्तरदायी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।