काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि बैंकिङ खाता सञ्चालन गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।
आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक खातामार्फत गर्नुपर्ने तथा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकिएको अवस्थामा खाता सञ्चालनको व्यवस्था मिलाइदिन अनुरोध गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत खर्च गर्नुपर्ने व्यवस्था छ ।
यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा अलग खाता सञ्चालन गरी दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत सोही खाताबाट खर्च गर्नुपर्ने तथा २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत मात्र लिनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
उक्त व्यवस्था समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूमा पनि लागू हुने जनाइएको छ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका लागि खोलिएका बैंक तथा वित्तीय संस्थाका खाता आम निर्वाचन सम्पन्न भई आयोगबाट बन्द गर्न निर्णय नहुँदासम्म सञ्चालनमा रहनेछन् ।
निर्वाचनसम्बन्धी आम्दानी र खर्च पारदर्शी बनाउन प्रत्येक राजनीतिक दलका लागि एकवटा र प्रत्येक उम्मेदवारका लागि छुट्टाछुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन आयोगले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको हो ।