मधेश प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा चारै क्लस्टरमा गठबन्धनका उम्मेदवार विजयी

जनकपुरधाम । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार मधेश प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । आज सार्वजनिक गरिएको परिणाम अनुसार महिलातर्फ एमालेकी रेखा झा, अल्पसंख्यकतर्फ नेपाली कांग्रेसका रञ्जित कर्ण, दलिततर्फ कांग्रेसकै धर्मेन्द्र पासवान र अन्य क्लस्टरतर्फ जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता महन्थ ठाकुर निर्वाचित भएका हुन् ।

महिला क्लस्टरतर्फ रेखा झाले ७ हजार २२२ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरिन् । उनका प्रतिस्पर्धी नेकपाकी शमी कुमारी अग्रवालले १ हजार ९४४ मत र जसपाकी चन्द्रकला देवी साहले ३२२ मत ल्याएका थिए । यस समूहमा ३५७ मत बदर भएको छ ।

अल्पसंख्यक क्लस्टरतर्फ कांग्रेसका रञ्जित कर्णले ८ हजार ९३ मत प्राप्त गरी विजयी भए । नेकपाका रामनन्दन प्रसादले १ हजार ३६१ मत र जसपाका शैलेश कुमार चौधरीले २७७ मत प्राप्त गरेका छन् । यसतर्फ ११४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

दलित क्लस्टरतर्फ कांग्रेसका धर्मेन्द्र पासवानले ७ हजार ९०४ मत ल्याउँदै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले १ हजार ३७६ मत र जसपाकी चमेली देवी दासले २०९ मत प्राप्त गरिन् । यस क्लस्टरमा १८६ मत बदर भएको छ ।

अन्य क्लस्टरतर्फ जसपाका महन्थ ठाकुरले ७ हजार ७२५ मतसहित विजयी भए । नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मत प्राप्त गरेका छन् भने ३१५ मत बदर भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस