राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र आर्थिक समृद्धिलाई संस्थागत गर्ने लक्ष्यसहित २७ बुँदे राजनीतिक तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ ।
पार्टीको प्रचार–प्रसार समितिले आइतबार जारी गरेको उक्त दस्तावेजमा राज्य पुनर्संरचना, अधिकार सम्पन्न प्रदेश, समानुपातिक समावेशी प्रतिनिधित्व र सीमान्तकृत समुदायको हकहित सुनिश्चित गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
प्रतिबद्धतापत्रमा संविधान संशोधन तथा पुनर्लेखनमार्फत संघीय संरचनालाई अझ सुदृढ बनाउने, स्वशासन र साझेदारी शासनको सिद्धान्तअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार, स्रोत र साधन हस्तान्तरण गर्ने उल्लेख छ । मधेश, आदिवासी जनजाति, थारु, दलित, पिछडावर्ग, महिला, मुस्लिम, अल्पसंख्यक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
राजनीतिक नियुक्तिमा भागबण्डा अन्त्य गरी योग्यता, क्षमता र अनुभवका आधारमा समावेशी नियुक्ति गर्ने, वास्तविक सुकुम्बासी र भूमिहीनको पहिचान गरी आवास र जीविकोपार्जनको व्यवस्था गर्ने, मातृभाषामा शिक्षा तथा सरकारी कामकाज सञ्चालन गर्न बहुभाषिक नीति लागू गर्ने विषय पनि दस्तावेजमा समेटिएको छ ।
युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न स्टार्टअप कोष, सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र बेरोजगारी भत्ताको व्यवस्था गर्ने, कृषिमा आधुनिकीकरण गर्दै किसानलाई सहुलियत ऋण, सिँचाइ, मल, बीउ, प्रविधि र बजारको पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको छ । औद्योगिकीकरणमार्फत रोजगारी वृद्धि गर्ने, साना तथा मझौला उद्योगलाई विशेष सहुलियत र संरक्षण दिने उल्लेख छ ।
बढ्दो महँगी नियन्त्रण, गरिब तथा विपन्न वर्गका लागि सस्तो दरमा खाद्यान्न उपलब्ध गराउने राशन कार्ड प्रणाली, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय र सर्वसुलभ सेवा, प्रत्येक पालिकामा आधारभूत अस्पताल, सडक, खानेपानी, नवीकरणीय ऊर्जा तथा प्राविधिक शिक्षाको विकास गर्ने लक्ष्य पनि समावेश गरिएको छ ।
त्यसैगरी, चुरे संरक्षण, वन तथा जैविक विविधताको जगेर्ना, जलवायु परिवर्तनबाट प्रभावित समुदायको सुरक्षा, ऐतिहासिक आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज तथा बन्दीहरूको रिहाइ गर्ने प्रतिबद्धता जनाइएको छ । अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (LGBTQ+) समुदायमाथि हुने विभेद अन्त्य गरी कानुनी र सामाजिक सुरक्षा सुनिश्चित गर्ने विषय पनि दस्तावेजमा उल्लेख छ ।
जसपाले संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र नागरिक स्वतन्त्रताजस्ता आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र विस्तार गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने दृढ संकल्प गरेको छ ।
