राजविराज । जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश कुमार यादवले गणतन्त्र, संघीयता, समानुपातिक समावेशी व्यवस्था र मधेशी पहिचानको रक्षा गर्ने शक्तिलाई मत दिन मतदातासँग अपिल गरेका छन् ।
संघीयता अस्वीकार गर्दै प्रदेशसभा निर्वाचनमै सहभागी नहुने, समावेशी प्रणालीको विरोध गर्ने र मधेशी पहिचानलाई कमजोर बनाउने प्रवृत्तिबाट सचेत रहन उनले आग्रह गरे । मधेशी जनताको पहिचान, पहुँच र सम्मानका लागि निरन्तर सङ्घर्ष गर्दै आएको शक्तिको पक्षमा उभिनु आजको आवश्यकता भएको बताउँदै उनले मधेश आन्दोलन, जनआन्दोलन र विभिन्न क्रान्तिमा प्रत्यक्ष सहभागी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान दिनेहरू नै मधेशी हक–अधिकारका सच्चा प्रतिनिधि भएको उल्लेख गरे ।
छठ पर्वजस्ता धार्मिक–सांस्कृतिक अभ्यासमा रोक लगाउने, काठमाडौँमा मधेशी समुदायमाथि विभेद गर्ने र कवाडी व्यवसायीमाथि दमन गर्ने प्रवृत्तिको विरुद्ध जसपा नेपाल सधैं उभिएको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवले चर्चा गरे । संसदमा मधेशी जनताको अधिकार, पहिचान र सम्मानको पक्षमा इतिहास रच्ने नेताहरूलाई सघाउनुपर्ने भन्दै जनसङ्घर्षको मैदानमा नउत्रिएका प्रायोजित र प्रचारको भरमा तयार गरिएका शक्तिबाट सतर्क रहन समेत उनले आग्रह गरे ।
निर्दोष युवाको रगतको मूल्यमा सत्ता स्वार्थ पूरा गर्ने र सहिदको नाम बेचेर राजनीति गर्ने प्रवृत्तिले देशलाई दुर्घटनातर्फ लैजाने खतरा रहेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘समाजवादको बाटो रोज्ने कि फासीवादको, परिवर्तनका पक्षधर कि प्रतिगमनका पक्षधर भन्ने निर्णय मतदाताकै हातमा छ, कसैलाई प्रधानमन्त्री बनाउन र कसैलाई प्रधानमन्त्री को उम्मेदवार बनाउन भदौ २३ र २४ को आन्दोलन भएको थियो र ?’
राज्यसत्ताको चरित्रमा परिवर्तन ल्याएर जनताको थप जनअधिकार लिपिबद्व गराउन लाग्नुको साटो प्रतिनिधिसभा विघटन गराउन गराउने, डिस्कोडबाट प्रधानमन्त्री छान्ने अनि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने ? उल्लेख गर्दै उनले अगाडि लेखेका छन् ‘कुन शक्तिले निर्देशन गरिरहेको ?’ देशलाई दुर्घटनाबाट जोगाउन, गणतन्त्र, सङ्घीयता र मधेशी अधिकारको रक्षा गर्न तथा सप्तरीको समग्र विकासलाई गति दिन आफूसहित जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई चुन्न मतदातासँग नेता यादवले आग्रह गरेका छन् ।