६० प्रतिशत जनसंख्या, तर सम्मानजनक प्रतिनिधित्व छैन : उपेन्द्र यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण नगरिएका कारण मधेशको सम्मानजनक प्रतिनिधित्व र पहुँच हुन नसकेको बताएका छन् ।

प्रेस मञ्च नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेश विद्रोहदेखि नै आफुहरुले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनर्संरचना गर्नुपर्ने माग गर्दै आएको चर्चा गरे । समान प्रतिनिधित्व लोकतन्त्रको मूल आधार भए पनि मधेशलाई योजनाबद्ध रूपमा कमजोर बनाइएको बताउँदै उनले भने ‘जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण नगरिएका कारण मधेशको सम्मानजनक प्रतिनिधित्व र पहुँच हुन सकेको छैन, त्यसैले संविधान संशोधन गरी लोकतन्त्रको सम्मान गर्नुपर्दछ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा संस्थागत नगरेसम्म देशले राजनीतिक निकास नपाउने बताउँदै संविधान संशोधन वा पुनर्लेखनसमेत गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘अहिले संविधान लिकमा छैन, सङ्घीयता र समावेशितालाई बलियो नबनाएसम्म लोकतन्त्र सुदृढ हुँदैन ।’

सात प्रदेशको वर्तमान संरचना अव्यवहारिक रहेको भन्दै प्रदेशहरूलाई पर्याप्त अधिकार नदिएर सङ्घीयतालाई कमजोर पार्ने प्रयास भइरहेको जसपा नेपालका अध्यक्ष यादवले बताए । संविधानमा व्यवस्था गरिएको समानुपातिक तथा समावेशी प्रणालीको लाभ पछाडि पारिएका समुदायले पाउनुपर्ने भए पनि व्यवहारमा शासक वर्गले नै बढी फाइदा लिइरहेको उनको आरोप थियो ।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले चुनावी छलफल तथा भेंटघाटका क्रममा शिक्षा, स्वास्थ्य, सडक, सिंचाइ र कानुनी सहायताको क्षेत्रमा गम्भीर समस्या देखिएको बताए । सरकारी विद्यालयमा गुणस्तरीय पढाइ नहुँदा अभिभावक जग्गा बेचेर छोराछोरीलाई निजी विद्यालयमा पढाउन बाध्य रहेको तथा गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच नरहेको उनले चर्चा गरे । क्षेत्रको अवस्था हेर्दा आधारभूत आवश्यकताहरुमा सर्वसाधारणको पहुँच नरहेको बताउँदै अध्यक्ष यादवले भने ‘शिक्षा, स्वास्थ्य र न्यायको क्षेत्रमा देखिएको समस्या राजनीतिक दरिद्रता हो ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राजविराजमा आयोजित रोड शोका क्रममा मधेशका नेता गजेन्द्रनारायण सिंहको सालिकमा माला फ्याँकिएको घटनाको विषयप्रति चिन्ता व्यक्त गर्दै उनले ‘यस्ता कार्य गैरराजनीतिक र असंवेदनशील हो ।’

प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), केन्द्रीय सदस्य अमरनाथ मण्डल, अशोक कुमार यादव, शम्भु झा, जिल्ला अध्यक्षद्वय केदार प्रसाद यादव, सुनिल कुमार झा सहितका नेताहरुको उपस्थिति थियो । पत्रकार सम्मेलनमा सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस