चुनावी मनोहरपोथी : लोकतन्त्रमा शैलीको उभार कि मूल्यको सङ्कट ?

चन्द्रकिशोर
चुनावमा प्रत्याशीले तुजुक र अक्कड़ देखाउँदा पनि नव पुस्ता आकर्षित हुनुको एउटा कारण परम्परागत नेतृत्वप्रतिको गहिरो निराशा हो। वर्षौँसम्म शिष्ट, संयमित र “संस्थागत” भाषामा बोल्ने नेताहरूले व्यवहारमा परिणाम नदिँदा युवाहरूलाई त्यो शैली खोक्रो लाग्न थाल्यो। उनीहरूलाई लाग्छ—जो ठूलो स्वरमा बोल्छ, जो अडान लिन्छ, जो ‘डराउँदैन’ जस्तो देखिन्छ, उसले नै प्रणाली हल्लाउन सक्छ। सामाजिक सञ्जालले पनि तीखो, उत्तेजक र आत्मविश्वासी प्रस्तुति लाई बढावा दिन्छ; शान्त र विवेकी आवाजभन्दा आक्रामक अभिव्यक्ति धेरै ‘भाइरल’ हुन्छ। यसरी अक्कड़लाई आत्मविश्वास र तुजुकलाई निर्णायकता ठान्ने मनोविज्ञान विस्तार हुन्छ।

यसको अर्को पाटो पहिचान र प्रतिरोधको राजनीति हो। नव पुस्ताले विगतका नेतृत्व शैलीलाई “सम्झौता–मुखी” र “ढिलो” भनेर अस्वीकार गर्दै आफूभित्रको आक्रोश र असन्तोषको प्रतिनिधि खोजिरहेको हुन सक्छ। जब व्यवस्था सुन्ने भन्दा बेवास्ता गर्ने जस्तो देखिन्छ, तब जिद्दी, अटेरी र रिसालु छवि नै ‘सिस्टमसँग नझुक्ने’ प्रतीक बन्छ। नकारात्मक गुणहरूलाई सकारात्मक साहसको आवरण दिइन्छ।

यो प्रवृत्ति केवल व्यक्तिप्रति आकर्षण होइन, विगतका राजनीतिक संस्कारप्रति मौन प्रतिरोध पनि हो—तर त्यो प्रतिरोध विवेकपूर्ण भन्दा बढी भावनात्मक बन्दै गएको देखिन्छ। तर यसको सामाजिक प्रभाव दीर्घकालमा जटिल हुन सक्छ। यदि राजनीति व्यक्तित्वको तुजुकमा केन्द्रित भयो भने नीति, संवाद र सहकार्यको संस्कार कमजोर पर्छ। लोकतन्त्रको सार सहमति, धैर्य र संस्थागत उत्तरदायित्वमा हुन्छ; अक्कड़को राजनीति बढ्दा ध्रुवीकरण, असहिष्णुता र तर्कभन्दा नाराको वर्चस्व बढ्न सक्छ। युवाहरूले परिवर्तनको ऊर्जा बोकेका छन्, तर यदि परिवर्तनको आदर्श नै आक्रामक शैलीसँग जोडियो भने समाजमा संवादको ठाउँ साघुरिन सक्छ। त्यसैले प्रश्न केवल किन आकर्षण भयो भन्ने होइन, भविष्यको नेतृत्व कस्तो मूल्यमा निर्माण गर्ने भन्ने पनि हो ?

Author:



क्याटोगरी छान्‍नुहोस