राजविराज, २९ माघ । जनता समाजवादी पार्टीका नेता तथा सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले झुठा आश्वासन र भ्रममा नफसी अधिकार र विकासका लागि सङ्घर्ष गर्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन्।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मन्सापुरमा आयोजित जनतासँग भेंटघाट तथा छलफल कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्। झुठा र भ्रामक प्रचारमार्फत आमजनतालाई दिग्भ्रमित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले भने, “भ्रामक प्रचार गर्नेहरूलाई जनताले चिन्न जरुरी छ। हाम्रो पार्टीले विगतमा मधेशी लगायत शोषित–उत्पीडित समुदायको हक–अधिकारका लागि सङ्घर्ष गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुँदा सप्तरीको कायापलट हुनेगरी थुप्रै विकासका काम अगाडि बढाइएका छन्।”
उनले गजेन्द्रनारायण सिंह अस्पतालमा थप शैय्याका लागि अत्याधुनिक भवन निर्माण, कृषि विश्वविद्यालय स्थापना तथा पठनपाठन सञ्चालन, अस्पताल परिसरमै नर्सिङ भवन निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ भवन निर्माण, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना, चार लेनको राजविराज–रुपनी सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक तथा राजविराज–हनुमाननगर–भारदह सडक निर्माणलगायतका कामहरू अघि बढाइएको उल्लेख गरे।
“ती सबै कामहरू पूरा गर्नुका साथै सप्तरीको समग्र विकासका लागि निरन्तर प्रयासरत रहनेछु,” उनले भने, “सप्तरीवासीको शीर उँचो राख्न म सधैं सङ्घर्षरत रहनेछु। विश्वासघात गर्दिनँ।” उम्मेदवार यादवले आफूहरू सामाजिक सञ्जालको आडमा नभई जनसङ्घर्षबाट राजनीतिमा आएको दाबी गर्दै सप्तरी विभिन्न क्षेत्रमा पछाडि परेकोले अब विकासप्रेमी र अनुभवी नेतृत्व रोज्नुपर्ने बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा, प्रदेश समितिका पूर्व सचिव युसुफ अली, जिल्ला सचिवद्वय निरज मुक्ति र जयनारायण यादव, नेता भागवत यादव, वडा नम्बर ७ का अध्यक्ष हरि मण्डल, वडा नम्बर ८ का अध्यक्ष सत्यनारायण यादव, युवा नेता युगेश्वर मण्डल, पूर्व वडा अध्यक्ष खगेन्द्र मण्डल, प्रदीप मण्डल, अमरनाथ मण्डललगायतको सहभागिता रहेको थियो।
उम्मेदवारसहितको टोलीले बिहीबार तिलाठी कोइलाडी गाउँपालिका–७ र ८ अन्तर्गत बेल्ही, लौनियाँ, सडेपार र तोपा टोलका मतदातासँग पनि भेंटघाट गरेको जनाएको छ।

