जनकपुरधाम । मैथिली साहित्यकार स्थापित साहित्यकार रामभरोस कापडि ‘भ्रमर’का दुई कृति बिहीबार सार्वजनिक गरिएका छन् ।
बालबालिकाहरुका लागि ‘जंगलमे मंगल’ नाम गरेको बाल साहित्य र तीस देखि चालिस वर्ष पूर्व लिइएका अन्तरवार्ताहरुको संग्रह ‘गपसप’ विमोचित पुस्तकहरु छन् । यी कृति ‘भ्रमर’का ५१औं र ५२औं कृति रहेका छन । मैथिली विकास कोषद्वारा आयोजित विमोचन समारोहको अध्यक्षता कोषका अध्यक्ष जीवनाथ चौधरीले गरेका थिए । कार्यक्रममा फरक किसिमले विमोचन गरिएको थियो ।
‘जंगलमे मंगल’बाल साहित्यको विमोचन बालकक्षाकै विद्यार्थीहरु कीर्ति ठाकुर र प्रिंस कापरले गरे भने अन्तरवार्ताको पुस्तक ‘गपसप’को विमोचन दरभंगाबाट आएका विद्वान डा.योगनन्द झाले गरे । विमोचन पश्चात विमोचित पुस्तकगपसपको बारेमा आफ्नो विचार राख्दै साहित्यकार, समीक्षक रमेश रञ्जन झाले यो पुस्तक सङ्ग्रहणीय र ऐतिहासिक महत्वको भएको बताए ।
पुस्तकमा केहि दशकपूर्वमा नै लिइएका अन्तरवार्ताहरुमा भारतका पूर्व प्रधानमन्त्री अटलविहारी वाजपेयी, माधव घिमिरे, गोबिन्द झा, पूर्व प्रधानमन्त्री मातृका प्रसादकोइराला, हिन्दीका सुुप्रसिद्ध कवि ‘अज्ञेय’, नेपाली कवि केदारमान ‘व्यथित’, डा. आनन्द मिश्र, डा. प्रफुल्ल कुमार सिंह ‘मौन’, जानकी मन्दिर बनाउने राजाका उत्तराधिकारी मधुकर शाह, डा. धीरेन्द्र, नेपाली नाटककार विजयमल्ल जस्ता चर्चित व्यक्तित्वहरु सामेल छन् ।
प्राज्ञ रमेश रञ्जनले मिथिलाकलाको वारेमा स्व. कृष्णकुमार कश्यपसँग लिइएको अन्तरवार्ता मिथिला लोक चित्रकलाको क्षेत्रमा स्वयंमा निकै उपयोगी र पठनीय रहेको जिकिर गरे । प्रा. परमेश्वर कापडिले मैथिली बाल सहित्यमा ‘भ्रमर’को ‘जंगलमे मंगल’ अवश्यपनि महत्वपूर्ण उपलब्धि हुने बताए ।
दरभंगाबाट आएका सुप्रसिद्ध साहित्यकार, समीक्षक चन्देशले ‘भ्रमर’का दुबै कृति उनको विविधविधामा थप भएको मात्र हैन यसले मैथिली बाल साहित्य र अन्तरवार्ताको क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । दरभंगाबाट आएका भएका विद्वान समीक्षक डा. योगानन्द झाले ‘भ्रमर’का यी दुई कृति आफ्नो विधामा उपलब्धिमूलक रहेको र यसले मैथिलीको भण्डारलाई समृद्ध गर्ने विश्वास व्यक्त गरे ।
साहित्यकार, समीक्षक रोशन जनकपुरीले ‘भ्रमर’सँग आफ्नो सम्बन्धप्रति ध्यानाकर्षण गराउँदै दुबै कृति पठनीय र सङ्ग्रहणीय रहेको विचार व्यक्त गरे । लेखक रामभरोस कापडि ‘भ्रमर’ले मैथिली साहित्यको खाली विधामा आफ्नो रचनाहरु ल्याउने प्रयासकै क्रममा यी पुस्तकहरु आएको बताए ।
अध्यक्ष जीवनाथ चौधरीले पुस्तक विमोचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद व्यक्त गरे ।