राजविराज, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीमा बिहान ११ बजेसम्म करिब १५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि जिल्लाभरका मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा तोकिएकै समयमा मतदान प्रक्रिया सुरु भएको छ । तर क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक मतदान केन्द्रमा मतपेटिका फुटेको कारण केही समय अवरोध भएपछि बिहान ८ बजेबाट मात्रै मतदान सुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार सो समस्या तत्काल समाधान गरी मतदान प्रक्रिया सुचारु बनाइएको छ । अन्य सबै मतदान केन्द्रमा भने निर्धारित समयमै मतदान सुरु भएको छ र हालसम्म शान्तिपूर्ण रूपमा मतदान जारी रहेको उनले बताए । जिल्लामा रहेका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीको कडा व्यवस्था गरिएको छ । मतदाताहरू बिहानैदेखि उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । कतिपय स्थानमा बिहानैदेखि मतदाताको लाम देखिएको छ ।
सप्तरीमा कुल ४ लाख ४६ हजार ४०२ मतदाता रहेका छन् । जसमध्ये २ लाख १३ हजार २८३ महिला, २ लाख ३३ हजार ९६ पुरुष र २३ जना अन्य मतदाता छन्। जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।
निर्वाचनका लागि जिल्लाभर २९६ मतदानस्थलमा ५६२ मतदान केन्द्र तोकिएका छन् । ती सबै केन्द्रमा सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको निगरानीमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रशासनले जनाएको छ ।
यस निर्वाचनमा सप्तरीबाट प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल १०२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जिल्ला प्रशासन कार्यालयले मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।
