राजविराज । समाजमा व्याप्त दाइजो कुप्रथालाई चुनौती दिँदै सप्तरीमा एक अधिकृतले बिना लेनदेन विवाह गरेका छन् ।
छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ निवासी अधिकृत प्रकाश कुमार मण्डल अमातले यस्तो विवाह गरी समाजमा उदाहरणीय बनेका हुन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ कि रितीका मण्डलसँग प्रकाश गत वैशाख ३० गते सामाजिक परम्परा अनुसार वैवाहिक बन्धनमा बाँधिएका छन् । रितिका बीबीएस अध्ययनरत छिन् ।
अधिकृत प्रकाशका अभिभावकले विवाह संस्कारमा प्रयोग भएको दुबो र धान मात्र स्वीकार गरेका छन् । दुलहाका बुवा अधिवक्ता युगेश्वर मण्डलका अनुसार दुलहीका अभिभावकको आग्रहमा बियौहती धोती–कुर्ता मात्र चिनोको रुपमा स्वीकार गरिएको छ । दुलही पक्षको नगद, फर्निचर तथा गरगहना नलिइएको उनले जानकारी दिएका छन् । बिना दाइजो छोराको विवाह गर्न पाएकोमा खुशी व्यक्त गर्दै दुलहाका पिता युगेश्वरले भने ‘विवाह दुई आत्माको मिलन हो, यस्तो पवित्र सम्बन्धमा लेनदेन हुनु हुदैन ।’
दहेज तिलक जस्तो कुप्रथाका कारण समाजमा महिला हिंसाका साथै पारिवारिक कलह तथा सम्बन्धमा दरार आउने गरेकोले यसलाई सबै मिलेर अन्त्य गर्नुपर्ने उनको भनाइ छ । शिक्षित युवायुवती पनि अभिभावकको करकाप तथा परिबन्धमा परेर विवाहमा दाइजो लिनु दिनु सिङ्गो समाजकालागि दुःखद् अवस्था रहेको बताउँदै उनी भन्छन् ‘पढेलेखेका युवाले कुरिती र बेथिति विरुद्ध उठ्नु जरुरी छ, विवाह जस्तो पवित्र सम्बन्धलाई खरिदविक्रीबाट मुक्त हुनु जरुरी छ ।’
छोरा र छोरीमा फरक नरहेकोले समाजले दहेज लिइ विवाह गर्नु कानुनी अपराध रहेकोले यस्ता विषयलाई स्थानीय सरकारले विशेष चासो लिनुपर्ने दुलहा प्रकाशका दाजु अधिवक्ता ध्रुव कुमार मण्डल बताउँछन् । हरेक कुरामा छोरी पनि छोरा जस्तै सक्षम रहेको बताउँदै उनी भन्छन् ‘हरेक अभिभावकले छोरीलाई शिक्षित बनाई सक्षम बनाउनु जरुरी छ, दहेज जस्तो कुप्रथा विरुद्ध जागरण आफ्नै घरबाट अभियानको रुपमा हुनुपर्दछ ।’
संयुक्त परिवार रहेका अधिकृत मण्डलका दाइको विवाह समेत यसअघि दाइजोमुक्त नै भएको स्थानीयले जानकारी दिएका छन् । दुलहा प्रकाश हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत पदमा कार्यरत छन् । यस अघि उनी सप्तरीका हनुमाननगर कंकालनी नगरपालिकामा कार्यरत थिए । सरकारी सेवामा प्रकाश इमानदार अधिकृतको रूपमा चिनिन्छन् ।