डिजिटल आक्रोश कि योजनाबद्ध प्रयोग? ‘कक्रोच जनता पार्टी’ बहसको भू-राजनीतिक पाटो

एम.जे. झा

‘डिजिटल प्रोपोगन्डा’ को ‘टुलकिट’ मार्फत दक्षिण एसियाली देशहरु अस्थिरताको चक्रव्यूहमा फस्दै गएको छ!

एम.जे. झा

​अहिले भारतमा बेजोड चर्चामा रहेको र सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको ‘कक्रोच जनता पार्टी’को उदयलाई धेरैले जनताको चरम निराशा र व्यङ्ग्यबाट उब्जिएको आक्रोश मात्र मानेका छन्। तर, यसको नेपथ्यको जरा पहिल्याउँदै जाने हो भने दृश्य निकै फरक, गम्भीर र भू-राजनीतिक स्वार्थहरूसँग जोडिएको देखिन्छ।

‘करेन्ट अफेयर्स’ र समकालीन राजनीतिमा रुचि राख्ने अधिकांशले सामाजिक सञ्जालमा अभिजित दिप्केको नाम र अनुहार देख्नेबित्तिकै ‘कक्रोच जनता पार्टी’ (CJP) सम्झिने माहोल बनिसकेको छ। हो, डिजिटल ‘अल्गोरिदम’ले यसरी नै चमत्कार गर्छ। तर, विश्व राजनीति र रणनीतिक विमर्शमा एउटा स्थापित मान्यता छ— कुनै पनि ठूलो राजनीतिक लहर, सामाजिक आक्रोश वा ‘सिस्टम-विरोधी’ (Anti-System) आन्दोलन आकस्मिक हुँदैन। त्यो प्रायः प्रायोजित, रणनीतिक रूपमा ‘क्युरेट’ गरिएको र पूर्व-डिजाइन गरिएको हुन्छ। यसलाई जनतामाझ यति विस्तृत तयारीका साथ प्रस्तुत गरिन्छ कि बाहिरबाट हेर्दा सबै कुरा स्वतःस्फूर्त वा ‘नेचुरल’ जस्तै लाग्छ।

यो परिदृश्यलाई बुझ्न हामी सन् २०११-१२ को ‘इन्डिया अगेन्स्ट करप्सन’ आन्दोलनमा फर्कनुपर्छ। तत्कालीन समयमा देशव्यापी जनआक्रोशलाई हतियार बनाएर ‘आम आदमी पार्टी’ (AAP) को उदय गराइएको थियो। विश्लेषकहरूका अनुसार, उक्त आन्दोलन र ‘आप’ को स्थापनामा पश्चिमा शक्तिहरू, गैर-सरकारी संस्थाहरू (NGOs) र रणनीतिक थिंक-ट्याङ्कहरूको गहिरो आर्थिक तथा वैचारिक सहयोग रहेको दाबी गरिँदै आएको थियो।

​आज आएर जब आम आदमी पार्टी (AAP) आन्तरिक विवाद, भ्रष्टाचारका मुद्दा र राजनीतिक रूपमा लगभग अन्त्यको दिशामा अघि बढिरहेको छ, ठ्याक्कै त्यही कार्यकर्ता पंक्ति, प्राविधिक विज्ञता र चतुर रणनीतिकारहरूको आडमा यो नयाँ ‘रि-ब्रान्डेड पोलिटिकल फर्म्याट’ लन्च गरिएको छ।

​जसले विश्वभरि भएका ‘कलर रिभोल्युसन’ (Color Revolution)—जस्तै युक्रेनको ‘अरेन्ज रिभोल्युसन’ वा ‘अरब स्प्रिङ’ जस्ता स्थापित राजनीतिक प्रणालीलाई भत्काउने बाह्य रणनीतिहरूलाई नजिकबाट नियालेका छन्, उनीहरूका लागि यो नयाँ खेल बुझ्न गाह्रो छैन। जनताको वास्तविक असन्तोष र भावनात्मक सेन्टिमेन्टलाई मिहीन ढंगले हतियार बनाएर देशमा राज्य संयन्त्रप्रति अविश्वास खडा गर्ने यो एउटा सुनियोजित ‘ट्रायल भर्सन’ मात्र हो।

पुराना खेलाडी, नयाँ चक्रव्यूह: ‘क्रोनोलोजी’ हेर्दा यसका जीवित प्रमाणहरू सामाजिक सञ्जालकै डिजिटल फुटप्रिन्टमा उपलब्ध छन्। ‘कक्रोच जनता पार्टी’ का स्वघोषित अध्यक्ष अभिजीत दिपके आफू अमेरिकाको बोस्टन प्रस्थान गर्नुअघि आम आदमी पार्टीका वरिष्ठ नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोडियासँग कति गहिरो निकटतामा थिए भन्ने कुरा छिपेको छैन। ‘बोस्टन जाँदा पनि AAP प्रतिको मेरो प्रतिबद्धता कहिल्यै कमजोर हुने छैन’ भन्दै उनले गरेका पुराना डिजिटल प्रतिबद्धताहरूले यो नयाँ ‘कक्रोच’ अभियानको वैचारिक उत्पत्तिको केन्द्र कहाँ छ भन्ने कुरा छर्लङ्ग पार्छ। पुराना खेलाडीहरूले नयाँ आवरणमा कस्तो चक्रव्यूह रचिरहेका छन् भन्ने बुझ्न यो सम्बन्धको कडी काफी छ।
​यस चक्रव्यूहमा जोडिएका अन्य पात्रहरू झनै रोचक छन्!

महुआ मोइत्रा र कीर्ति आजाद: पश्चिम बंगालमा राजनीतिक रूपमा आक्रामक र वर्तमान केन्द्रीय सत्तासँग तीव्र टकरावमा रहेका तृणमूल कांग्रेस (TMC) का यी दुई सांसदहरूले यस अभियानको सदस्यता लिनु र यसलाई प्रवर्द्धन गर्नु केवल संयोग वा अकस्मात उठाइएको कदम होइन, हुनै सक्दैन। पश्चिम बंगालमा TMC को लज्जास्पद हार लगतै यो सब हुनुले पनि – यो एउटा सुनियोजित ‘ब्याक-अप प्लान’ हुनसक्ने अनुमान गर्न सकिन्छ!

​सोनाम वाङ्गचुक जो लद्दाखका चिरपरिचित अभियन्ता हुन्, मेरो अनुमान सही हो भने, आगामी दिनमा लद्दाखको भूराजनीतिक र वातावरणीय मुद्दालाई ढाल बनाएर आन्दोलन गरिरहेका अभियन्ता सोनाम वाङ्गचुक पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो इको-सिस्टममा जोडिने छन्।

समानताको सूत्र: महुआ मोइत्रा, कीर्ति आजाद, र सोनाम वाङ्गचुकमा एउटा बलियो समानता छ—यी सबै पात्रहरू स्थापित राज्य संयन्त्र, संस्थापन पक्ष र वर्तमान विकासको मोडेलविरुद्ध ‘एन्टि-इस्टाब्लिसमेन्ट’ (Anti-Establishment) न्यारेटिभ सिर्जना गर्ने संवाहकहरू हुन्। यिनीहरूलाई एउटै वैचारिक ध्रुवमा ल्याउनु नै यो प्रपोगान्डाको मुख्य उद्देश्य हो।

​प्रवक्ता र मुखपत्रको भूमिकामा डिजिटल ‘इको-सिस्टम’ पनि तयार छ! ​कुनै पनि रणनीतिक आन्दोलनलाई स्थापित गर्न बौद्धिक र तार्किक वैधता (Intellectual Legitimacy) आवश्यक पर्छ। यस खेलमा ध्रुव राठी जस्ता करोडौँ फलोअर्स भएका युट्युबर र रवीश कुमार जस्ता स्थापित पत्रकारहरूले प्रत्यक्ष रूपमा पार्टीको सदस्यता नलिए पनि यसको मुख्य प्रवक्ता र मुखपत्रको काम गर्नेछन्।

अलगोरिदमको प्रयोग गरेर ‘तपाईंको आक्रोश जायज छ, र यो व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो’ भन्ने भाष्य २४सै घण्टा जनताको मोबाइल स्क्रिनमा पुर्‍याइन्छ। यसले गर्दा सर्वसाधारण नागरिकलाई यो कुनै प्रायोजित खेल नभएर देश सुधार्ने ‘क्रान्तिकारी कदम’ जस्तो लाग्न थाल्छ।

​तर यो त केवल सुरुवात हो। अहिले सामाजिक सञ्जालमा जे देखिँदैछ, त्यो त एउटा ‘ट्रायल’ मात्रै हो। यसको असली र खतरनाक रूप अर्थात् ‘कक्रोच जनता पार्टी २.०’ जब पूर्ण रूपमा सडक र राजनीतिमा सक्रिय हुनेछ, त्यसले भारत र समग्र दक्षिण एसियाकै स्थिरताका लागि निकै प्रत्युत्पादक र खतरनाक मोड लिनेछ। ​किनभने, यो रणनीति व्यवस्था सुधार्न वा लोकतन्त्रलाई बलियो बनाउन डिजाइन गरिएको होइन। यसको अन्तर्निहित उद्देश्य भनेको ​नागरिक र राज्यका संस्थाहरू (न्यायपालिका, निर्वाचन आयोग, सुरक्षा निकाय) बीचको विश्वास पूर्ण रूपमा समाप्त पार्ने अनी देशलाई निरन्तर आन्दोलन, अराजकता र नीतिगत अस्थिरता (Policy Paralysis) तर्फ धकेल्ने। अन्त्यमा भारतमा आन्तरिक द्वन्द्व सिर्जना गरेर भारत सहित दक्षिण एसियाको आर्थिक र रणनीतिक सन्तुलन खलबल्याउने।

यदि भारतले समयमै यस्ता डिजिटल ‘टुलकिट’ र कृत्रिम रूपमा निर्मित लहरहरूको गहिराइ बुझेर उचित कदम उठाएनन् भने, ढिलो या चाँडो यी ‘कक्रोच’हरूले घरको जग सड्याएर सत्यानास गर्ने निश्चित छ। Source: facebook

Author:



क्याटोगरी छान्‍नुहोस