‘कुमकुम भाग्य’की अभिनेत्री संचिता मुम्बईमा मृत फेला

राजविराज । भारतीय टेलिभिजन तथा चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री संचिता उगलेको ३० वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी मुम्बईस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक रूपमा प्रहरीले घटनालाई आत्महत्याको रूपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घटना मुम्बईको नालासोपारा क्षेत्रमा रहेको उनको घरमा स्थानीय समयअनुसार साँझ ६ः३० देखि ७ः३० बजेको बीचमा भएको अनुमान गरिएको छ। घटनाको समयमा उनी घरमा एक्लै रहेको बताइएको छ। त्यसपछि परिवारका सदस्यले उनलाई तत्काल अस्पताल पुर्‍याएका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनास्थलबाट कुनै सुसाइड नोट फेला नपरेको र मृत्युको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ। संचिताको निधनको खबरसँगै भारतीय टेलिभिजन उद्योग, उनका परिवार, साथीभाइ तथा प्रशंसकहरूमा गहिरो शोक छाएको छ। सामाजिक सञ्जालमार्फत धेरै कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

संचिता उगले भारतीय टेलिभिजनकी परिचित कलाकार थिइन्। उनले जी टिभीको चर्चित धारावाहिक ‘कुमकुम भाग्य’मा ‘दिया टण्डन’को भूमिका निर्वाह गरेपछि व्यापक लोकप्रियता हासिल गरेकी थिइन्। त्यसपछि उनी ‘वागले की दुनिया’मा ‘रुचिता जेटली’को भूमिकामा देखिएकी थिइन्।

त्यसैगरी, दंगल टिभीको धारावाहिक ‘दिलवाली दुल्हा ले जाएगी’मा उनले ‘सुकून’ नामक मुख्य पात्रको भूमिका निभाएकी थिइन्। टेलिभिजन क्षेत्रमा उनले आफ्नो अभिनय क्षमताबाट छुट्टै पहिचान बनाएकी थिइन्।

टेलिभिजनसँगै चलचित्र तथा ओटीटी परियोजनामा पनि सक्रिय रहेकी संचिताले विक्की कौशल अभिनीत ऐतिहासिक चलचित्र ‘छावा’मा ताराबाईको युवा अवस्थाको भूमिका निर्वाह गरेकी थिइन्। साथै उनी ‘साइलेन्स २: द नाइट आउल बार सुटआउट’ जस्ता प्रोजेक्टमा पनि देखिएकी थिइन्।

उनको असामयिक निधनले सम्पूर्ण मनोरञ्जन क्षेत्र स्तब्ध बनेको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस