‘विद्यालय गएको समयमा एकपटक कोठा हेर्नुस्’ : अभिभावकलाई भावुक अपिल

आदरणीय अभिभावकज्यू, नमस्कार !

विषय : महिनाको एक पटक छोरा–छोरीको कोठा खानतलासी सम्बन्धमा

अभिभावकज्यू, आफ्नो जीवनका हरेक कठिनाइ बिर्सेर आफ्नो खुसी र सपना छोराछोरीको जीवनमा समर्पण गर्न चाहने हरेक मातापिताको चाहना हुन्छ।

अहिलेको बढ्दो डिजिटल युगमा सकारात्मक पक्षसँगै धेरै नकारात्मक प्रवृत्तिहरू पनि तपाईं–हाम्रा छोराछोरीमा परेको यथार्थलाई नकार्न सकिँदैन। सामाजिक सञ्जालको गलत प्रयोगसँगै मोबाइलमा सजिलै पहुँच हुने अश्लील साइटहरूको प्रभावबाट हाम्रा भविष्यका सहारा कतै सामाजिक सञ्जालको कुलतमा त छैनन् ? कृपया दैनिक रूपमा एक घण्टा समय छुट्याई आफ्ना छोराछोरीको मोबाइल चेक गर्नुहोस्।

अर्को कुरा, अहिले ७–८ कक्षा पढ्ने बच्चादेखि वयस्कसम्मलाई डिजिटल चुरोट अर्थात् भेपले आकर्षित गरेको तथ्यांक डरलाग्दो छ। फ्लेभर मिश्रित यो चुरोटले युवालाई लागूपदार्थतर्फ प्रवेश गराउने सजिलो माध्यम पनि हुन सक्छ। एक दिन हामी बुटवलको गर्मीका कारण साथीभाइसँग खोलामा नुहाउन गएका थियौँ। त्यही बेला बुटवलकै एक प्रतिष्ठित विद्यालयबाट SEE दिएका ९ जना विद्यार्थी आए। तर दुःखको कुरा, ती ९ जनाले नै खल्तीबाट डिजिटल चुरोट (भेप) निकालेर धुवाँ उडाउन थाले। उनीहरूलाई चिन्ने इच्छाले मैले कुराकानी सुरु गरेँ। ती ९ जनामध्ये ७ जनाका बुबा उनीहरूकै उज्ज्वल भविष्यका लागि वैदेशिक रोजगारीमा जानुभएको रहेछ। भेप चार्ज गर्नुपर्ने र महँगो पनि हुने भएकाले उनीहरूले घरमै चार्ज गरेर सुरक्षित स्थानमा राख्ने सम्भावना रहन्छ।

तसर्थ, अभिभावकज्यू, तपाईंको भविष्य अर्थात् छोराछोरीलाई कुलततर्फ डोर्‍याइरहेको विषालु पदार्थ तपाईंकै घरमा सुरक्षित रूपमा लुकाइएको हुन सक्छ। कृपया महिनाको एक दिन उनीहरूलाई थाहा नदिई विद्यालय गएको समयमा उनीहरूको कोठा खानतलासी गरिदिनुहुन अनुरोध गर्दछु।

उही, तपाईंको शुभचिन्तक
प्रकाश भुसाल, बुटवल

Author:



क्याटोगरी छान्‍नुहोस