काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा दुवै पक्षबीच नेपाल–रुस सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भयो। शुभकामना आदानप्रदानपछि उपराष्ट्रपति यादवले सन् १९५६ देखि स्थापित नेपाल–रुस कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण र पारस्परिक सम्मानमा आधारित रहेको बताए। उनले यस वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुन लागेको प्रसंग उल्लेख गर्दै उक्त सम्बन्धलाई नेपालले गौरवका साथ स्मरण गर्ने बताए।
यादवले सोभियत संघकालदेखि नै मानव संसाधन विकास, पर्यटन, औद्योगिक तथा यातायात पूर्वाधार निर्माणमा रुसले पु¥याएको योगदानको प्रशंसा गरे। पछिल्ला वर्षहरूमा सांस्कृतिक तथा जनस्तरको आदानप्रदान बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नेपाल–रुस सम्बन्धमा नयाँ आयाम थपिने र सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा रुसी जनताको सुख, शान्ति र समृद्धिको कामना पनि गरे। उक्त अवसरमा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई थप मजबुत बनाउन रुस निरन्तर सहयोगका लागि प्रतिबद्ध रहेको बताए। उनले जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सहयोग विस्तार गर्न रुस इच्छुक रहेको जानकारी दिए।
नेपाल सरकारबाट अनुरोधसहितको सूची प्राप्त भए वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानाजस्ता औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको पनि उनले बताए।