राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारतर्फको प्रारम्भिक प्रयासका रूपमा मूल्याङ्कन गरेका छन्।
आइतबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको वास्तविक सफलता भने आगामी दिनमा सुधारका कार्यक्रम कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् र त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्याउँछ भन्ने आधारमा निर्धारण हुने बताएका हुन्। यादवका अनुसार सरकारले पहिलो सय दिनमा सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना र राज्य संयन्त्रलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ। ठूला लोककल्याणकारी कार्यक्रमभन्दा शासन प्रणाली सुधारमा केन्द्रित हुनु सकारात्मक भए पनि अहिले नै सरकार सफल वा असफल भएको निष्कर्ष निकाल्न हतार हुने उनको भनाइ छ।
पूर्व उपप्रधानमन्त्री यादवले नेपालको राजनीतिक परिवर्तनपछि जनतामा जागेको ‘नयाँ नेपाल’ निर्माणको अपेक्षा अझै पूर्ण रूपमा पूरा हुन नसकेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक व्यवस्थापन, सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थायित्वका क्षेत्रमा चुनौती कायम रहेको उनको विश्लेषण छ।
उनले समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरलाई सुदृढ बनाउँदै मधेसी, आदिवासी–जनजाति, दलित, महिला, थारू, मुस्लिम, ओबीसी, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायको सम्मानजनक सहभागिता र अधिकार सुनिश्चित गर्न सके मात्र लोकतन्त्र थप न्यायपूर्ण, समावेशी र समृद्ध बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।