राजविराज । सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुखसहित दुई कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सोमबार निमित्त प्रमुख डा. रामपवित्र दास र सवारी चालक भागेन्द्र यादवलाई नियन्त्रणमा लिएको हो। आयोगका अनुसार केन्द्रमा करारमा कार्यरत भ्याक्सिनेटरहरूले आफूहरूले काम गरेबापत पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराइदिन २० प्रतिशत रकम ‘कमिसन’का रूपमा मागिएको भन्दै उजुरी दिएका थिए। सोही सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक अनमोल खड्काको नेतृत्वमा खटिएको टोलीले विशेष निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा निमित्त प्रमुख डा. दासको कार्यकक्षमै सवारी चालक यादवले भ्याक्सिनेटरहरूबाट घुसस्वरूप रकम लिइरहेको अवस्थामा टोलीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ। कारबाहीका क्रममा घुसबापत लिइएको ३३ हजार ३ सय ५० रुपैयाँ तथा स्रोत खुल्न नसकेको ४८ हजार ७० रुपैयाँ गरी कुल ८१ हजार ४ सय २० रुपैयाँ नगद बरामद गरिएको छ। त्यसैगरी फरक–फरक रकम उल्लेख भएका पाँच थान चेक र दुवै आरोपीका एक–एक थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ।
अख्तियारले बरामद नगद, चेक तथा अन्य प्रमाणका आधारमा दुवै जनामाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ।