लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम. एस. पाललाई पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।
आयोगका अनुसार सिरहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत पालले आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेस गरिएका कागजात नमिलेको भन्दै सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट रु. ५ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। आयोगले उनको कार्यकक्षबाट घुस रकमसहित एक थान मोबाइलसमेत बरामद गरेको जनाएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।