राजविराज । सप्तरी प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बुधबार मध्यराति भारततर्फ लैजाँदै गरिएको अवस्थामा हनुमाननगर–रमपुरा मल्हनियाँ नाका हुँदै जाने क्रममा तीन वटा सवारीसाधनबाट ३३ क्विन्टल ३२ किलो ४६० ग्राम गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुल्लामा राति करिब १ बजे गरिएको कारबाहीमा दुई वटा पिकअप र एउटा स्करपियो जिपबाट १९ बोरामा प्याक गरिएको गाँजा फेला परेको हो। उक्त स्थान भारतीय सीमाबाट करिब ५ देखि ७ किलोमिटरको दूरीमा पर्छ।
बरामद भएका सवारीसाधनमध्ये प्र.१–०४–००१ च १५०७ नम्बरको पिकअपबाट १६ क्विन्टल ६८ किलो ११० ग्राम, बा.प्र.०१–०२९ च ९५८६ नम्बरको पिकअपबाट ११ क्विन्टल ७० किलो ७१० ग्राम र बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्करपियोबाट ५ क्विन्टल २३ किलो ६४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनापछि तीनै सवारीसाधनका चालक फरार भएका छन्। उनीहरूको खोजी तीव्र पारिएको तथा गाँजा बरामदसँग सम्बन्धित घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।