राजविराज । ‘एनइइटी–युजी २०२६’ परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर चर्किएको विवादपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
राजीनामापछि जारी वक्तव्यमा प्रधानले विद्यार्थीको हितलाई केन्द्रमा राख्दै र युवामा उत्पन्न अन्योल अन्त्य गर्ने उद्देश्यले आफूले मन्त्रिपरिषद्बाट अलग हुने निर्णय गरेको बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले चार दशकभन्दा बढी समय शिक्षा क्षेत्रसँग आबद्ध रहँदै आएको उल्लेख गर्दै गुणस्तरीय, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै राष्ट्र निर्माणको आधार भएको बताएका छन्।
गत मे ३ मा सञ्चालन गरिएको ‘एनइइटी–युजी २०२६’ परीक्षामा प्रश्नपत्र चुहावट र अनियमितताको आरोप सार्वजनिक भएपछि भारत सरकारले घटनाको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)लाई दिएको थियो। त्यसपछि परीक्षा रद्द गरी पुनः सञ्चालन गरिएको तथा आगामी वर्षदेखि कम्प्युटर–आधारित परीक्षण (सीबीटी) प्रणालीबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ।
यसैबीच, उक्त प्रकरणको विरोधमा भारतका विभिन्न स्थानमा प्रदर्शन जारी छ। सामाजिक अभियन्ता सोनम वाङचुकले पनि नयाँ दिल्लीस्थित जन्तर मन्तरमा २६ दिनसम्म आमरण अनशन गरेका थिए।
भारत सरकारले भविष्यमा प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट–ट्र्याक अदालत, विशेष कार्यदल (एसटीएफ) गठन तथा कडा कानुनी व्यवस्था लागू गर्ने तयारी गरिरहेको जनाएको छ।