सुनसरीमा गोली लागेर युवकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी, साउन ११ — देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरेको छ।

प्रहरीका अनुसार गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनामा प्रदर्शनकारी र प्रहरीसहित १६ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्। आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार जारी गरिएको आदेश उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। आदेश अवज्ञा गरेमा एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी पनि दिइएको छ।

प्रशासनले हरिनगरा, भुटाहा, कसनागंज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चारकिल्लाभित्र कर्फ्यु लागू गरेको जनाएको छ। घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस