खुरहुरिया । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित खुरहुरियामा अत्याधुनिक एवम् विशेष क्षमताको पेट्रोल पम्प शनिवारदेखि सञ्चालनमा आएको छ ।
पूर्वमन्त्री एवम् मधेश प्रदेशसभा सदस्य सकिल अली र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले रिब काटेर एक समारोहका बिच उद्घाटन गरेका हुन् । राजविराजदेखि करिब चार किलोमिटर पश्चिम हुलाकी सडकखण्डमा नेपाल आयल निगमको अधिकृत नमूना विक्रेताको रुपमा सङ्कटमोचन इन्टरप्राइजेजले उक्त पेट्रोल पम्प सञ्चालनमा ल्याएको जनाइएको छ । यसैगरी जग्गाधनी कमल मण्डलले समेत इन्धन डिस्पेन्सरको रिबन काटेर शुभारम्भ गरेका छन् ।
पम्पका प्रोप्राइटर माधव कुमारका अनुसार पम्पको ईन्धन क्षमता एक लाख ४४ हजार लिटर रहेको छ । क्षमताको हिसाबले जिल्लाकै पम्पहरुमध्ये यो सबभन्दा अत्यधिक हो । भण्डारण क्षमता अत्यधिक रहेको हुँदा राजविराज तथा आसपास क्षेत्रलाई जस्तोसुकै अवस्थामा १० दिनसम्म धान्नसक्ने प्रोप्राइटरले जानकारी दिएका छन् ।
उनका अनुसार पेट्रोल र डिजल भर्नका लागि दुई–दुई गरी चार ओटा अत्याुनिक इन्धन डिस्पेन्सर जडान गरिएको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अत्याधुनिक प्रविधि तथा सुविधासम्पन्न भौतिक पूर्वाधारहरु समेत निर्माण गरिएको छ ।
विष्णुपुर गाउँपालिकामा पेट्रोल पम्प सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै यस्ता व्यवसायिक प्रतिष्ठान स्थापना हुनुले पालिकाका लागि गौरवको विषय भएको बताए । केही साता अघि मात्र खुरहुरिया चौकमा विभिन्न व्यवसायिक प्रतिष्ठानसहितको पार्वती कम्प्लेक्स सञ्चालनमा आएको हो ।





