राजविराज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जेन–जी विद्रोह’को वर्षदिन पुग्न लाग्दा देशको राजनीतिक अवस्था गम्भीर र संवेदनशील बन्दै गएको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै इतिहासबाट विदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थालेको र उदीयमान नयाँ शक्तिहरू भने चौबाटोमा अलमलिएको जस्तो देखिनु बिडम्बनापूर्ण भएको उल्लेख गरेका छन्।
उनले बाह्य रूपमा भूराजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको र आन्तरिक रूपमा लामो समयदेखि सतहमुनि रहेको अर्थराजनीतिक तथा सामाजिक–सांस्कृतिक असन्तुष्टिको ‘ज्वालामुखी’ जुनसुकै बेला विस्फोट हुनसक्ने खतरा बढेको बताएका छन्।
यस्तो अवस्थामा देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिले विश्व इतिहास र नेपालको आफ्नै इतिहासबाट पाठ सिक्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन्।
उनका अनुसार पुराना शक्तिहरूले इख साँधेर ‘हलो अड्काएर गोरु चुट्ने’ प्रवृत्ति त्याग्दै इमानदार आत्मसमीक्षा गर्न आवश्यक छ। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै सबै कुरा सम्हाल्न खोज्नुको सट्टा विनम्र र संयमित हुँदै सबैको साथ लिएर राज्यको दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ।
‘अन्यथा गर्नु यो संगीन ऐतिहासिक घडीमा देश र जनताका निम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ,’ भट्टराईले चेतावनी दिएका छन्।
समाज परिवर्तन र लोकतान्त्रिक ढंगले राज्य सञ्चालन गर्नु एकल दौड नभई ‘रिले दौड’ भएको उल्लेख गर्दै उनले सबै राजनीतिक शक्तिले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताएका छन्।