शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको पारिश्रमिक बढ्यो

काठमाडौं । सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह र आधारभूत तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक सम्बन्धित तहको तृतीय श्रेणीका स्थायी शिक्षकसरह कायम गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अब माध्यमिक तहका अनुदान कोटाका शिक्षकले माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह पारिश्रमिक पाउनेछन् । त्यस्तै, कक्षा ६–८ मा कार्यरत शिक्षकको पारिश्रमिक निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ । आधारभूत तहका शिक्षकको पारिश्रमिक भने ३४ हजार ७३० रुपैयाँबाट बढेर ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ ।

प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदानमा पनि मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । वृद्धिपछि ईसीडी सहजकर्ताले मासिक १७ हजार रुपैयाँ, विद्यालय सहयोगीले १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीले २० हजार रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूले क्रमशः १२ हजार, १० हजार र १५ हजार रुपैयाँ पाउँदै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस