डोम समूदायलाई बाँसको सामग्री बनाउन भ्याइँनभ्याइँ

राजविराज । हिन्दू धर्मावलम्बीहरूको महान छठ पर्व नजिकिँदै जाँदा सप्तरीका डोम समूदायलाई बाँसको सामग्री बनाउन यतिवेला भ्याइँनभ्याइँ भएको छ ।

कुल सात लाख भन्दाबढी जनसंख्या रहेको सप्तरीमा ७० प्रतिशत बढीले छठ पर्व मनाउने गरेकोले पर्वमा आवश्यक पर्ने बाँसको सामग्री बनाउन डोम समूदायलाई भ्याइँ नभ्याइँ भएको हो । गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मे हम्मे पर्ने गरेको डोमहरूले छठ पर्व आउना साथ कार्तिकको सुरुदेखि नै बाँसको सामग्री बनाउने कार्यमा जुटने गर्छन् ।

बाँसबाट तयार गरिएका डालो, नाङ्लो, टालु टपरी लगायतका नयाँ भाँडाकुँडाले छठ पर्व मनाउने भएकाले पर्व आउनुअघि नै ती भाँडाकुँडा तयार गरी घर–घरमा पुगेर विक्री गर्नुपर्ने सेबोदेवी मरिकले बताइन् । ‘सो सामग्री नै विक्री गरेर आउने पैसाले मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त हुने गरेकोले यतिवेला काममा व्यस्त छौं’ उनले भनिन्–‘यद्यपी, केहीले भाँडाकुँडा उधारोमा नै माग्ने गरेकाले आफुहरुलाई बाँसको पैसा तिर्न समस्या हुन्छ ।’

छठ पर्व मनाउने प्रत्येक परिवारले छठमाता तथा सूर्यदेवलाई बाँसबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा चार/पाँच वटा बाँसका नयाँ भाँडाकुँडा किन्नुपर्ने परम्परा रहिआएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस