बालबालिकाको लागि सरकारले एक करोड डोज खोप खरिद गर्ने

जनकपुरधाम । सरकारले बालबालिकालाई लगाउन मिल्ने कोभिड-१९ विरुद्धको एक करोड डोज खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फाइजर र मोर्डना खोप खरिद गर्नको लागि स्वास्थ्य मन्त्रालयलाई अनुमति दिएको हो । यी दुबै खोपलाई अमेरिकासहितका मुलुकमा बालबालिकामा लगाइएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले एक करोड डोज खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । सो परिमाणको खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी उनले दिए ।

मन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । ‘‘अब फाइजर र मोर्डना खोप छिट्टै आउनेछ,’’ मन्त्री खतिवडाले भने, ‘मन्त्रिपरिषद्ले खोप ल्याउने निर्णय गरेसँगै खोप आइहाल्छ ।”

सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरेको छ । १२ वर्षमाथिका बालबालिकालाई यी दुई खोप लगाउने सरकारको तयारी छ । फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध उक्त फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन खोप आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस