राजविराज । बढ्दो रुपमा रहेको महिला हिंसा न्यूनिकरण गर्नका निम्ति गैरसरकारी संघ संस्थादेखि अधिकारकर्मी र सरकारी संयन्त्रले पनि वर्षौदेखि सक्रियतापूर्वक कार्य गरिरहेका छन् । तर, दाइजो (दहेज) नल्याएको निहुँ होस् वा बोक्सीको आरोपमा होस्, महिलामाथि हुने हिंसा भने न्यूनिकरण हुन सकेको छैन् ।
यसको पछिल्लो उदाहरण हो, २२ वर्षीया ब्यूटी झा । समाजमा व्याप्त रहेको पितृसत्तात्मक सोचले एक वर्षभन्दा बढी समयदेखि घरविहिन रहेकी ब्यूटीलाई आफ्नै घरमा प्रवेश गर्न अदालतसम्म गुहार्नु परेको छ । मागअनुसारको दाइजो नदिएको भन्दै सप्तरीको राजविराज नगरपालिका–६ का सासू शान्ति झा र ससुरा बासुदेव झाले घरबाट निकालेपछि विवाह भएको एक वर्षभन्दा बढी समयदेखि ब्यूटी माइतमै बस्दै आएकी थिइन् ।
भारत विहार राज्यको अररिया जिल्लास्थित खरैयाकी ब्यूटी झाको २०७७ मंसिर २५ गते सामाजिक परम्पराअनुसार ३० वर्षीय विपिन झासँग विवाह भएको थियो । ‘मागअनुसारको दाइजो नदिएको भन्दै विवाहको पार्टीकै रातिदेखि नै आफुमाथि घरेलु हिंसा हुँदै आएको छ’ उनले भनिन्–‘सबथोक सहेर घरपरिवारलाई खुशी पार्ने यत्न गरिरहे । तर, सकिनँ ।’
पछि सासू–ससुरा र अन्य सदस्यहरुले परिवारमा बस्नै नदिएको उनको दुखेसो छ । ‘सुरु सुरुमा त पुजारीलाई सायत (शुभ दिन) देखाएर घर भित्र्याउने भन्नुहुन्थ्यो तर त्यो पञ्छिने वहाना मात्रै रहेको बुझियो’ उनले भनिन्–‘बाध्य भएर न्यायालयको शरणमा पुग्नुपर्यो ।’
साउथ अफ्रिकामा बस्दै आएका पति विपिन यहीँ वैशाख ९ गते हुन लागेको आफ्नी बहिनीको विवाहमा आउने निश्चित भएपछि आफु माइतबाट घर फर्किएको र पनि घर प्रवेश नदिएपछि न्यायालय पुगेको उनको भनाई छ ।
ब्यूटीले गत वैशाख ५ गते सप्तरी जिल्ला अदालतमा उजुरी दिइन् । अदालतले वैशाख ६ गते अन्तरिम संरक्षणात्मक आदेश दिएपछि ब्यूटीलाई सासू–ससुराले घरमा प्रवेश दिएन । त्यसपछि सोही दिन साँझ अधिकारकर्मीहरुको पहल र प्रहरीको सहयोगमा झालाई प्रवेश गराएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले अदालतको आदेशअनुसार पीडितलाई घरमा शान्तिपूर्वक बस्न नदिए कानुनी कारवाही गर्ने भनेपछि झा परिवार ब्यूटीलाई घरभित्र प्रवेश गराउन सहमत भएको बताए ।