सप्तरीबाट पाँच पत्रकार चुनावी प्रतिस्पर्धामा

राजविराज । यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सप्तरीका पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । निर्वाचन तालिकाअनुसार आइतवार र सोमवार मनोनयन पत्र दर्ता भएको थियो । जसमा सप्तरीबाट नगर प्रमुख, गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्ष पदमा पत्रकारिता गर्दै आएकाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार भोला पासवानले कञ्चनरुप नगरपालिकाको नगर प्रमुखमा मनोनयन दर्ता गराएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदमा मनोनयन दर्ता गराएका हुन् ।

दुई दशकअघि सप्तरीबाट पत्रकारिता सुरु गरेका उनी पछिल्लो समय नयाँ पत्रिका राष्ट्रिय दैनिकको प्रदेश ब्यूरोको जिम्मेवारी वहन गरिसकेका छन् । हाल उनी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव हुन् ।

त्यस्तै, राजविराजबाट प्रकाशित मधेश क्रान्ति साप्ताहिकका सम्पादक हेकशंकर सिंह पनि तिलाठी कोइलाडी गाउँपालिकाबाट उपाध्यक्षमा प्रतिस्पर्धा गदैछन् । जनता प्रगतिशिल पार्टीबाट उनले मनोनयन दर्ता गराएका हुन् ।

अढाइ दशकदेखि पत्रकारिता गर्दै आएका सिंह नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय पार्षद समेत रहिसकेका छन् । त्यस्तै, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सह–सचिव समेत रहेका चन्दनकुमार यादवले पनि राजविराज नगरपालिका वडा नम्वर २ का वडाअध्यक्ष पदमा मनोनयन पत्र दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रबाट मनोनयन पत्र दर्ता गराएका उनी सप्तरी टाइम्स्का सम्पादक हुन् । त्यस्तै, राजविराजकै अर्का पत्रकार सतिशकुमार दत्त स्थानीय तह निर्वाचनका लागि आफ्नै वडामा प्रतिस्पर्धी बनेका छन् । नेकपा एकिकृत समाजवादी पार्टी (एस)बाट राजविराज वडा नम्वर ८ को अध्यक्ष पदमा दत्तले मनोनयन पत्र दर्ता गराएका हुन् । उनी राजविराजबाट मैथिली भाषामा प्रकाशित मिथिला साप्ताहिकका कार्यकारी सम्पादक हुन् ।

त्यस्तै, राजविराजस्थित भोरुकवा एफएमका समाचार वाचक तथा मधेशलाइभ डटकम अनलाइनका संवाददाता कमलकुमार मण्डल पनि निर्वाचनमा प्रत्यासी बनेका छन् । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर २ का अध्यक्ष पदमा मण्डलले जनमत पार्टीबाट मनोनयन दर्ता पत्र दर्ता गराएका हुन् ।

यता, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिव रामनारायण विश्वासले महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने भन्ने निर्णय गरेको बताए । ‘निर्वाचनमा उम्मेदवार बन्न चाहने महासंघका कुनै पनि सदस्यले महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्र उम्मेदवार बन्न महासंघ केन्द्रीय समितिको बैठकले आह्वान समेत गरेको छ’, उनले मधेशलाइभलाई भने ।

Author:



क्याटोगरी छान्‍नुहोस