ब्राण्डेड लघु उद्योग स्थापना गर्नेे मेयरका उम्मेदवार यादवको अठोट

राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिकामा दोस्रो पटक मेयरका लागि भिड्दै छन् जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमार सिंह यादव । निर्वमान मेयर यादवले नगरपालिकाका लागि आगामी विभिन्न योजना सार्वजनिक गरेका छन् ।

मधेशलाइभसँग कुराकानीका क्रममा उनले विगतदेखि नै उपेक्षित रहदै आएको बोदे बरसाइन नगरपालिकामा अन्य कुराका साथ साथै साना लगानीका उद्योग पनि आवश्यक रहेको बताए । आफुले जिम्मेवारी पाए भविष्यमा नाम चल्ने गुणस्तरयुक्त उत्पादन गर्ने खालको उद्योग स्थापनालाई प्राथमिकतामा राख्ने बताएका छन् । ‘बोदे बरसाइनमा नयाँ ब्राण्डेड उद्योगको आवश्यकता छ’ उनले भने–‘यसले यो नगरपालिकाको पहिचानलाई बढाउन थप योगदान पुर्याउने मैले सोचेको छु ।’

अघिल्लो कार्यकालमा सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा काम गरेको बताउँदै उनले भने छोटो समयमा जे जति गर्न सकियो गरियो, जनताले आर्शिवाद दिए बाँकी अधुरा कामका साथै नयाँ योजनालाई अघि बढाउने सोचमा छु । पहिलो कार्यकालमा काम गर्न दुई वर्ष मात्रै समय पाएको बताउँदै उनले थपे–‘दुई वर्ष कोरोनाले नै खाइदियो, ६ महिना अगावै अहिले राजीनामा दिएर उम्मेदवार बन्नुपर्दा लामो समय काम गर्न पाइएन ।’

पहिलो कार्यकालमा कर्मचारीको अभाव समेत व्यहोरेको अनुभव सुनाउँदै उनले कोरोनाको कारण देखाउँदै केन्द्र सरकारले कोरोना कोषमा रकम कट्टा गरेका कारण पनि सोचे जति गर्न नसकिएको बताए । शिक्षा, सडक र स्वास्थ्य लगायतमा भौतिक संरचनाको विकास गरेको दावीकासाथ उनले डब्लुएचओ, युनिसेफ र प्रदेश सरकारले गरेको संयुक्त अध्ययन–अनुगमनबाट बोदे बरसाइन स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको र यस सम्बन्धी प्रशंसा पत्र पनि प्राप्त भएको जानकारी दिए ।

आफुले विगतको विगतको कार्यकालमा १० वटै वडामा विकासीय काम अघि बढाएको दावीका सथ उनले त्यसका बाबजुद प्रशासनिक भवन निर्माण कार्य पूरा गरेको र नगरको सुरक्षाका लागि नगर प्रहरी पनि भर्ना गर्न पाउदा संतोष लागेको बताए । आफुले नै १० कठ्ठाा जग्गा  दान दिएर उक्त भवन बनाएको उनको कथन छ ।

नगरपालिकाभित्रका विद्यालयमा शिक्षकलाई आन्तरिक सरुवा गर्न ऐन कानून बनाएर सरुवाको व्यवस्था गरेको, पोलिङ वाइरिङ, कृषि मिटर सहज रुपमा उपलब्ध गराएर किसानलाई सहुलियत दिएको नगरपालिकाको उत्तर भेगमा सिंचाईका लागि पैनीको व्यवस्था गरेको र समग्रमा बढी बजेट विद्यालयको पूर्वाधार विकासका लागि लगाएको यादवले जानकारी दिएका छन् ।

भविष्यमा कृषक समूह बनाएर बोरिङ तथा कृषि मिटर दिने, खास रोगको उपचारका लागि अस्पताल निर्माण गर्ने, पाठ्यपुस्तक निर्माण स्थानीय तहमा लागू गर्ने, मानराजा गढी, दिनाभद्री, लक्ष्मीनारायण मन्दिर लगायतका धार्मिक तथा पौराणिक स्थलमा पूर्वाधार विकासको काम गर्ने योजना रहेको उनले सुनाए ।

मस्जिद–मर्दसा लगायतका लागि पनि योजना ल्याउने सोच छ उनले भने–‘मैले जे जति गरे त्यसको लेखाजोखा जनताकै हातमा छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस