दलित पिताको रोदनः छोरालाई कुटीकुटी मारिदियो, न्याय कहिले पाउने ?

राजविराज, ४ असोज । छोरालाई कुटीकुटी मारिदिएको ५ महिना हुन लाग्दा समेत न्याय नपाएको भन्दै सप्तरीका एक दलित पिताले दुखेसो पोखेका छन् । सप्तरीको खडक नगरपालिका–४ पंसेराका ६७ वर्षीय रामअशिष पासवानले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै प्रहरीले तदारुकता नदेखाउँदा घटनामा संलग्न ८ मध्ये अझैंसम्म १ जनालाई मात्र पक्राउ गर्न सकिएको गुनासो गरे ।

‘गत वैशाख १२ गते राति छिमेकी रामचन्द्र पासवानकी छोरीको विहे थियो । जन्तीसँगै आएको डिजे बाजामा छिमेकी थारु (चौधरी) केटाहरु दारु खाएर नाचिरहेका थिए’ उनले भने, ‘ती केटाहरु आफ्नी नातिनीहरुलाई चिस्काउन थालेपछि मेरो छोरो सन्तलाल पासवानले त्यसो नगर्न आग्रह गरे, तत्काल उनीहरु पनि त्यहाँबाट गए । पछि केटाहरुको ग्याङ नै लिएर उनीहरु फर्किए र आफ्नै आँखा अगाडी छोरालाई अन्धाधुन्ध कुटपिट गर्न थाले ।’

२७ वर्षीय छोरा सन्तलाललाई बचाउने प्रयास गर्न लाग्दा आफुलाई हिर्काएर लडाइदिएको दुखेसो गरे । ‘पछि होस आउदा कुटपिटबाट छोरा गम्भिर घाइते भएपछि हस्पिटल लगेको रैंछ भनेर थाहा पाए र त्यसको भोली पल्ट (वैशाख १४ गते) उपचारकै क्रममा नोबेल अस्पताल विराटनगरमा छोराको मृत्यु भयो’ उनले भने, ‘न्यायको लागि पुलिस प्रशासनदेखि अदालतसम्म चौतर्फी गुहार गर्दै आइरहेका छौं तर अझैंसम्म न्याय भने पाएका छैनौं, न्याय नपाउदै मर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।’

उनका अनुसार घटनामा दिलीप चौधरी, विवेक चौधरी, सुशान्त चौधरी, गोविन्द चौधरी, दिनेश चौधरी, नविन चौधरी, राजु चौधरी, धनश्याम चौधरी संलग्न छन् । उनले छोरा सन्तलालको मृत्यु भएकै दिन दिलिप चौधरीलाई पक्राउ गरिए पनि अन्यलाई प्रहरीले पक्राउ नगरेको गुनासो गरे । ‘अन्यलाई कहिले पक्राउ गर्ने? र आफुहरुले न्याय कहिले पाउने?’ उनले भने, ‘बुढेसकालमा छोरा गुमाउनुको पीडा कसैले बुझेकै छैन्, गर्भवति बुहारी र २ वर्षीया नातिनीलाई हेर्दा जहिले छोराकै सम्झना आइरहन्छ, रात–रातभरि निन्द्रा नै लाग्दैन् ।’

रामअशिषसँगै पत्रकार सम्मेलनमा आएकी उनी पत्नी (मृतक सन्तलालकी आमा) ६० वर्षीया श्यामवति देवीले न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरेकी छन् ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बताए । ‘पक्राउ गरिएका एक जनालाई पूर्पक्षका लागि थुनामा राखिएको छ’ उनले भने, ‘अन्यको पनि खोजी कार्य जारी रहेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस