नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ ।
यो दिन काग तिहारका रूपमा प्रचलित छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ ।
यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भन्दै कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिएर खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।