मातृभाषामा पठनपाठन सुरु भए मात्रै साक्षर प्रदेश बनाउन सकिन्छ : शिक्षा मन्त्री महेश

राजविराज – मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले मातृभाषामा पठनपाठन सुरु नभएसम्म साक्षर प्रदेश बनाउने सोच पुरा हुन नसक्ने बताएका छन् ।

अन्तरराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मंगलबार मैथिली साहित्य परिषद् र मैथिल महिला परिषदद्वारा सप्तरीको राजविराजमा आयोजित मातृभाषामा अनिवार्य शिक्षा बिषयको विचार गोष्ठी एवम सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘आफुसँगै प्रदेश सरकारले पनि प्रदेशलाई साक्षर बनाउने सोच बनाइसकेको छ,’ उनले भने ‘यसको लागि मातृभाषाको आवश्यकता पर्ने नै छ ।’ यसमा चुनौतीहरु धेरै भएतापनि आफुहरु पछि नहट्ने उनले बताए । ‘चुनौतीहरु धेरै छन्, तर त्यसबाट डराएको छैन्’ उनले भने ‘समस्यालाई क्रमशः समाधान गर्नुपर्छ र सफल हुन्छौं ।’

उनले विकासको लागि निर्मम बनेर कानुन बनाएर लागु गर्नु जरुरी रहेको बताए । ‘कुनै कानुन बनाउँदा धेरैजनालाई नराम्रो लाग्न सक्छ,’ उनले भने ‘तर सुधार गर्नको लागि पनि कानुन बनाउनु आवश्यक छ, त्यसलाई कार्यान्वयन गराउनु जरुरी छ, अनि मात्र विकास हुन्छ ।’

मैथिली साहित्य परिषद्को अध्यक्ष सतिश दत्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश प्रदेशका सांसदहरु गोविन्द बहादुर न्यौपाने, मनिष कुमार सुमन, माला कर्ण र किरण साह तथा परिषद्का उपाध्यक्ष समेत रहेका आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, परिषद्का पुर्व अध्यक्ष देवेन्द्र मिश्र, पुर्व उपाध्यक्ष दिपेन्द्र चौधरी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस