काठमाडौँ, माघ ११ । राष्ट्रिय सभामा रिक्त हुन लागेको सदस्य चयनका लागि आज देशभर मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका १८ जना सदस्यको पदावधि समाप्त भई सिट रिक्त हुँदैछ । तीमध्ये कोशी प्रदेशबाट खस आर्य समूहको एक पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका लागि आज सातै प्रदेशमा निर्वाचन भइरहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशगत रूपमा तोकिएका मतदानस्थल र केन्द्रमा मतदान प्रक्रिया सञ्चालन गरिएको छ । कोशी प्रदेशका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेश प्रदेशका लागि जनकपुरधाम–४ स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशका लागि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र तोकिएको छ ।
यसैगरी गण्डकी प्रदेशमा पोखरा कास्कीस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराही दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भइरहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ ।