काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने व्यक्तिविरुद्ध कारबाही गर्न आदेशको प्रतीक्षा नगरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको निरीक्षणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ नगर्न आग्रह गरे । साथै, आवश्यक समन्वयका लागि उच्च अधिकारी तथा सम्बन्धित निकायसँग सम्पर्क कायम गर्नुपर्नेमा पनि जोड दिए ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र निष्पक्ष बनाउन साइबर ब्युरोलाई सामाजिक सञ्जालमार्फत फैलाइने अमर्यादित, कानुनद्वारा निषेधित, तथ्यहीन तथा भ्रामक समाचार र सूचनाको सूक्ष्म निगरानी गर्न गृहमन्त्री अर्यालले निर्देशन दिएका छन् ।
मिथ्या सूचना प्रवाह गर्नेहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई दृष्टिगत गरी साइबर ब्युरोले अझ सक्रिय र सतर्क भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।