राजविराज, १८ माघ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य विष्णु गुप्तासहित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका स्थित कठौना बजारमा आइतबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा गुप्ता सहित विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका नगरसचिव समेत रहेका सेवा निवृत लेखापाल कामेश्वर साहको नेतृत्वमा समेत दर्जनौं नेता तथा कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेता कुलानन्द साह, राष्ट्रिय मुक्ति पार्टीका जिल्ला सदस्य तथा शम्भुनाथ नगरपालिका संयोजक सुनिल कुमार मण्डल, चन्द्रिका देवी चौधरी, निलम देवी चौधरी, श्रीवती देवी साह, गेना देवी सरदार, सुनिता देवी सरदार, सुनिता देवी सरदार, रिता देवी चौधरी, प्रमेश्वरी देवी सरदार, जानो देवी राम, बिनिता देवी राम, जिबछी राम सहितका व्यक्तिहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई पार्टीका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार यादवले गम्छा तथा माला लगाएर स्वागत गरेका छन् । उनले नव प्रवेशीहरुलाई पार्टीको नीति एवम् सिद्धान्तमा प्रतिवद्ध रहँदै चुनावी अभियानमा लाग्न आह्वान गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सातओटै प्रदेशमा मधेश पछाडि रहेको तथा गरिबी, बेरोजगारी लगायतका समस्याले समेत ग्रस्त रहेको बताए । देशमा ३५ वर्षसम्म कांग्रेस कम्युनिस्टले शासन सत्ता सञ्चालन गरेको चर्चा गर्दै उनले भने ‘३५ वर्ष अघि सञ्चालनमा रहेका सयौँ कलकारखानाहरु कांग्रेस कम्युनिस्टकै गलत नीतिका कारण बन्द भयो, निजिकरण गरी सरकारी विद्यालय, विद्यालय, अस्पताल समेतलाई धरासायी बनाएर देशलाई नै बर्वाद गर्ने काम भयो ।’
मधेश जनविद्रोहबाटै मधेशी, महिला, दलित, जनजाति, थारु, मुस्लिम, आदिवासी, अल्पङ्ख्यक लगायतका जाति तथा समुदायको कोटाको सुनिश्चितता भएको उनले बताए । कांग्रेस कम्युनिस्ट पार्टीमा केन्द्रीय समितिमा समेत कोटा सुनिश्चित भएको बताउँदै उनले भने ‘हामीले मधेश आन्दोलन नगरेको भए ती पार्टीहरुमा पनि मधेशीले ठाउँ पाउने थिएन । नेपालमै पहिचानको आधारमा एकमात्र मधेश प्रदेश स्थापना भएको चर्चा गर्दै अध्यक्ष यादवले जनसङ्ख्याको आधारमा करिब ६० प्रतिशत मधेशको जनसङ्ख्या रहे पनि विकासीय बजेट मात्र ११ प्रतिशत दिने गरेकोले अझैं पनि मधेश र मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि सङ्घर्ष जारी रहेको बताए ।
स्थानीय नेता एवम् वडा अध्यक्ष चन्द्रकान्त मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य तथा युवा विद्यार्थीका प्रमुख बिदेश्वर प्रसाद यादव बिक्की, प्रदेशका नेता दिनेश कुमार यादव, युसुफ अलि, जिल्ला अध्यक्ष सुनिल कुमार झा, विनोद कुमार यादव, समानुपातिक उम्मेदवारद्वय स्वस्तिका चौधरी, चुल्हाइ मण्डल, जिल्ला उपाध्यक्ष हरेराम यादव, अधिवक्ता मो. समिम, वडा अध्यक्ष गोपाल चौधरी। समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, ओबिसी महासंघका जिल्ला अध्यक्ष उमेश कुमार यादव लगायतले मन्तब्य व्यक्त गरे ।
अध्यक्ष यादवले आइतबारै डाक्नेश्वरी नगरपालिकाको विभिन्न वडाहरुमा समेत चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा सहभागिता जनाएका छन् ।
