पत्रकार सौरभलाई नियन्त्रणमा लिने प्रहरीलाई कार्वाहीको माग

राजविराज । सप्तरीको तिलाठी कोइलाडी–१ स्थित राजविराज भन्सार कार्यालय परिसरमा रहेको प्रहरी बिटका एक प्रहरीले रकम असुलीे गरिरहेको दृश्य खिंचेको निहुँमा पत्रकार सौरभ यादलाई प्रहरीले केही समय नियन्त्रणमा लिएको कार्यप्रति सर्वत्र आलोचना गरिएको छ ।

प्रहरी बिटमा प्रहरीले एक महिला व्यापारीसँग रकम लिँदै गरेको फोटो तथा भिडियो खिंचेको निहँुमा नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवलाई प्रहरीले करिब १५ मिनेट नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका हवल्दार डी. यादवले उनलाई नियन्त्रणमा लिएकोमा केही समयपछि छाडिएको पीडित पत्रकार यादवले जानकारी दिएका छन् ।

पत्रकारमाथि भएको उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले गम्भीर आपत्ति जनाउँदै कडा शब्दमा भत्र्सना गरेका छन् । उक्त घटनाले प्रेस स्वतन्त्रता, सूचनाको हक र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।

यसै बिच आमसञ्चार प्राधिकरण मधेश प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादवले उक्त घटनाप्रति भत्र्सना गर्दै दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले घुस लिने प्रहरीको फोटो खिंचेको निहुँमा पत्रकार यादवलाई प्रहरीले नियन्त्रणमा लिनु घोर निन्दनीय कार्य भएको प्रतिक्रिया जनाएका छन् । प्रेस मञ्च नेपाल मधेश प्रदेशका संस्थापक अध्यक्ष समेत रहेका उनले यस्ता हर्कत गर्ने प्रहरीलाई हदैसम्मको कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस