आरोप–प्रत्यारोपको चुनावी संस्कृति र लोकतन्त्रको चुनौती

चन्द्रकिशोर

जब उम्मेदवारहरूले निर्वाचनलाई लोकतान्त्रिक प्रतिस्पर्धा होइन, युद्धका रूपमा बुझ्छन्, तब राजनीति नै विकृत दिशातर्फ मोडिन्छ। जित नै अन्तिम सत्य ठानिँदा छलछाम, षड्यन्त्र, डर–त्रास र झूठा प्रचारलाई रणनीति बनाइन्छ। यस्तो अवस्थामा तर्क र तथ्यभन्दा भावनात्मक उत्तेजना, पहिचानको उक्साहट र विरोधीको चरित्र हत्या प्रमुख हतियार बन्छन्। परिणामतः निर्वाचन बहसको थलो होइन, आरोप–प्रत्यारोप र ध्रुवीकरणको मैदानमा रूपान्तरित हुन्छ।

यस प्रवृत्तिको प्रत्यक्ष असर मतदातामाथि पर्छ। मतदाताले नीति, कार्यक्रम र दीर्घकालीन दृष्टिकोणको आधारमा निर्णय गर्न पाउने अवसर गुमाउँछन्। भ्रम, डर र असत्यको भीडमा विवेक दबिन्छ, तथ्य ओझेलमा पर्छ। निर्वाचन प्रक्रियाप्रतिको विश्वास कमजोर हुँदै जान्छ र “कसले जित्छ” भन्ने चासो “किन जित्छ” भन्ने प्रश्नभन्दा ठूलो बन्छ। यसले लोकतन्त्रलाई नागरिकको सचेत छनोट होइन, भावनात्मक प्रतिक्रिया र क्षणिक प्रभावको खेल बनाइदिन्छ।

दीर्घकालमा यस्तो युद्धमुखी चुनावी संस्कृति लोकतान्त्रिक संस्थामाथि नै खतरा बन्छ। हार स्वीकार गर्ने संस्कार हराउँछ, सत्तामा पुगेपछि पनि सहकार्य र संवादको ठाउँ संकुचित हुन्छ। राजनीतिक असहमति शत्रुता जस्तै व्यवहार हुन थाल्छ, जसले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ। त्यसैले निर्वाचनलाई स्वस्थ, वैज्ञानिक र विवेकसम्मत प्रतिस्पर्धाका रूपमा पुनःस्थापित गर्नु केवल नैतिक आवश्यकता होइन, लोकतन्त्रको दीर्घायुका लागि अनिवार्य शर्त हो।

Source:Socialmedia

Author:



क्याटोगरी छान्‍नुहोस