व्यक्तिवाद हावी भएको भन्दै एमाले छाडे पूर्व मन्त्री जितेन्द्र देव

राजविराज । नेकपा (एमाले) का नेता संविधान सभा सदस्य तथा पूर्व मन्त्री जितेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गरेका छन् ।

सोमबार राजविराजस्थित नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन मार्फत औपचारिक रूपमा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा देवले देशमा लामो समयदेखि विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको व्यापक वैदेशिक पलायनविरुद्ध भदौ २३ गते देखिएको ‘जेन–जी विद्रोह’ जनआक्रोशको स्वाभाविक अभिव्यक्ति भएको उल्लेख गरेका छन् । तर त्यसलाई सही रूपमा बुझ्न वा आत्मसमीक्षा गर्नुपर्नेमा उल्टै ‘विदेशी षड्यन्त्र’का रूपमा चित्रण गरिएकोप्रति उनले आपत्ति जनाएका छन् ।

पार्टीभित्र व्यक्तिवाद र देवत्वकरण बढ्दै गएको, साथै स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन भइरहेको भन्दै गम्भीर असहमति जनाएका छन् । यस्ता विचार, नीति तथा व्यवहारसँग सहमत हुन नसकेकाले आजकै मितिदेखि नेकपा (एमाले) परित्याग गर्ने निर्णयमा पुगेको उनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । देव यसअघि एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसबाटै उनी राष्ट्रिय सभा सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनेका थिए । केही समयअघि मात्र पुनः उनी एमालेमा फर्किए थिए

संविधान सभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका देवले आफुले तत्कालिन मधेशी जनअधिकार फोरममा उठाएको पहिचानको मुद्धा स्थापित हुँदै गएको चर्चा गर्दा यसलाई सकारात्मक रुपमा लिएको बताए । एमाले छाडेपछि अब कुन पार्टीमा जाने विषयमा उनले तत्काल केही बताउन चाहेन । यद्यपी बामपन्थी विचारधार अँगाल्दैआएको चर्चा गर्दै जनताको हक हित एवम् अधिकारकालागि राजनीतिमा सक्रिय रहने नेता देवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस