काठमाडौंमा रास्वपाको पहिलो जित, १५ हजार बढी मतले रञ्जु विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित दर्ता गरेको छ। सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम राखेकी न्यौपानेले आफ्ना प्रतिस्पर्धीहरूलाई उल्लेखनीय मतान्तरले पछि पार्दै जित सुनिश्चित गरेकी हुन्। यो जितसँगै रास्वपाले निर्वाचनमा आफ्नो पहिलो सफलता हासिल गरेको छ।

यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे। उनी न्यौपानेसँग ठूलो मतान्तरले पराजित भएका हुन्।

त्यसैगरी, अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले हार बेहोरेका राप्रपाका रवीन्द्र मिश्रले यसपटक ३ हजार ९७२ मत मात्र प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए।

अन्य उम्मेदवारमध्ये नेकपा (एमाले)का मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत पाउँदा श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत प्राप्त गरेका छन्।

यस परिणामले राजधानी क्षेत्रमा नयाँ राजनीतिक शक्तिप्रति मतदाताको समर्थन बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस