काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा निर्वाचन २०८२ को परिणाम पार्टीका लागि अप्रत्याशित र अनपेक्षित रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले निर्वाचन प्रक्रिया, शक्ति केन्द्रहरूको भूमिका तथा परिणामबारे विभिन्न कोणबाट शंका–उपशंका र प्रश्न उठिरहेको उल्लेख गरेका छन् । उनले समयक्रममा यसबारे स्पष्टता आउने विश्वास व्यक्त गर्दै जसपा नेपाल लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, मौलिक हक, नागरिक स्वतन्त्रता तथा सामाजिक न्यायको पक्षमा निरन्तर संघर्षरत रहने बताएका छन् ।
यादवले मधेश जनविद्रोह, जनआन्दोलन तथा विभिन्न संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै उत्पीडित, उपेक्षित र विभेदमा पारिएका समुदायको अधिकार, पहिचान, प्रतिनिधित्व र मुक्तिका लागि पार्टी दृढतापूर्वक अघि बढिरहने उल्लेख गरेका छन् ।
उनले मधेशी, आदिवासी जनजाति, दलित, महिला, पिछडावर्ग, थारु, मुस्लिम तथा अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गर्न जसपा प्रतिबद्ध रहेको बताएका छन् । त्यस्तै मानव अधिकार, लोकतान्त्रिक स्वतन्त्रता, भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता, विधिको शासन तथा संवैधानिक सर्वोच्चताको पक्षमा पार्टीले निरन्तर आवाज उठाइरहने उनको भनाइ छ ।
यादवले खाद्य सुरक्षा, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, समान अवसर, विकास, समृद्धि तथा सामाजिक रूपान्तरणका एजेन्डामा पार्टीले संघर्ष जारी राख्ने बताएका छन् । साथै समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, निर्वाचन प्रणाली सुधार, न्यायप्रणाली पुनर्संरचना तथा स्वायत्तता र स्वशासनसहितको सङ्घीय प्रणालीका लागि पार्टी अविचलित रूपमा अघि बढिरहने उनले उल्लेख गरेका छन् ।