चन्द्रकिशोर
गणतन्त्र
भिख मागेर आएको होइन,
कुनै दरबारको दयाबाट झरेको
टुक्रो पनि होइन।
यो त
जनताको छातीबाट उठेको
मुक्तिको उद्घोष हो,
रगतले लेखिएको
अडिग घोषणा हो।
यो आएको हो
जेलमा थुनिएका सपनाबाट,
आमाको अधुरो प्रतीक्षाबाट,
शहीदको अन्तिम मुस्कानबाट,
र हजारौं नागरिकको
अवज्ञा र आँटबाट।
आज
जो यसको जयगान गर्न हच्किन्छन्,
जो इतिहासको यो उज्यालोलाई
आँखा चिम्लेर हेर्छन्,
समयले सबै याद राख्नेछ।
किनकि
यो अध्याय
स्याहीले होइन,
शहादतले लेखिएको हो।
यो कुनै दलको दस्तावेज होइन,
नेपाली जनताको
चीर आकांक्षाको मूर्त रूप हो।
सिंहासनको छायाँमा बसेर
यदि कसैले फेरि
जनताको सपनामाथि
षड्यन्त्रको जाल बुन्छ भने,
यदि बन्द कोठामा बसेर
जनमतलाई कमजोर पार्ने
व्यूह रचिन्छ भने
याद रहोस्,
जनताको स्मृति
दरबारका भित्ताभन्दा धेरै बलिया हुन्छन्।
को को
जनताको आवाज थुन्न खोज्दैछन्,
को को
लोकतन्त्रलाई मुखौटा बनाएर
अधिनायकवादको बाटो हिंड्दैछन्
सबैको हिसाब राखिन्छ।
किनकि इतिहास
केवल राजाहरूको वंशावली होइन,
जनताको धैर्यको अभिलेख पनि हो।
र जब जनता उठ्छन्,
तब सबैभन्दा अग्ला दरबारहरू पनि
होचा देखिन थाल्छन्।
आज गणतन्त्र दिवसमा
हामी केवल उत्सव मनाइरहेका छैनौं,
हामी शपथ दोहोर्याइरहेका छौं
यो देश
फेरि कुनै भयको बन्दी बन्ने छैन,
जनताको अधिकार
फेरि कुनै तख्तको पैतालामुनि पर्ने छैन।
किनकि गणतन्त्र
केवल व्यवस्था होइन,
यो नेपाली जनताको
अदम्य आत्मसम्मान हो।