मधेश प्रदेश सभा सदस्य ललिता दास ‘विद्रोही’लाई समाजसेवा पुरस्कार–२०८२

जनकपुरधाम । सामाजिक न्याय, मानव अधिकार र सीमान्तकृत समुदायको अधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी मधेश प्रदेश सभा सदस्य ललिता दास तत्मा ‘विद्रोही’लाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०८२ बाट सम्मानित गरिएको छ।

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित उक्त पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ रहेको छ। सामाजिक न्याय, मानव अधिकार तथा सीमान्तकृत समुदायको सशक्तीकरणका क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै विद्रोहीलाई सम्मान गरिएको हो। शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभले उनलाई पुरस्कार प्रदान गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजकी केन्द्रीय सभापति रेनुका पौडेलका अनुसार दलित, महिला तथा सीमान्तकृत समुदायको अधिकारका लागि ललिता दासले निर्वाह गरेको सक्रिय भूमिका र सामाजिक न्यायको आन्दोलनमा पु¥याएको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको हो।

सिराहाको सन्हैठा गाउँमा जन्मिएकी ललिता दास हाल लहान निवासी हुन्। उनी मधेश प्रदेश सभाकी सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्यसमेत हुन्। जातीय विभेद, छुवाछुत र सामाजिक अन्यायविरुद्ध सडकदेखि सदनसम्म निरन्तर आवाज उठाउँदै आएकी उनी विभिन्न आन्दोलनका क्रममा पटकपटक पक्राउसमेत परेकी छन्।

वि.सं. २०८० मा आमाको निधनपछि छोरीले शव बोक्न नहुने परम्परागत मान्यता तोड्दै उनले आमाको शव माइती गाउँदेखि कमला नदीसम्म बोकेर लैजाँदा व्यापक चर्चा भएको थियो। विगतमा रेडियो पत्रकारितामा समेत सक्रिय रहेकी उनका विभिन्न लेख तथा रचनाहरू सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्।

मानव अधिकार तथा शान्ति समाजले सामाजिक रूपान्तरण र समावेशी समाज निर्माणमा योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस